शनिवार , जेठ १६, २०८३
बागलुङ, १५ जेठ । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले जैमिनी नगरपालिका–५ स्थित श्री सर्वोदय जनक माध्यमिक विद्यालयमा कम्प्युटर प्रयोगशाला स्थापना गरी विद्यालयलाई १० थान कम्प्युटर, २०० थान विद्यालय झोला तथा आर्थिक रूपमा विपन्न ५ जना विद्यार्थीलाई विद्यालय पोशाक हस्तान्तरण गरेको छ।
रोटरीको आदर्श वाक्य “Service Above Self (आफ्नो स्वार्थभन्दा माथि सेवा)” लाई आत्मसात गर्दै आयोजित कार्यक्रममा क्लबका अध्यक्ष रोटेरियन विष्णु शर्माको अध्यक्षता तथा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमको सञ्चालन क्लबका सचिव रोटेरियन बसु बडालले गर्नुभएको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजेन्द्र के.सी., शिक्षक अभिभावक संघका अध्यक्ष रवि प्रसाद शर्मा, विद्यालयका प्रधानाध्यापक भवानी आचार्य, विद्यालय बाल क्लबका अध्यक्ष तथा रोटरी डिस्ट्रिक्ट ३२९२ का ICM Chair रोटेरियन कृष्ण पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कम्प्युटर प्रयोगशालाको उद्घाटन गर्दै उपप्रमुख हरिहर शर्माले विद्यालयमा स्थापना गरिएको कम्प्युटर प्रयोगशालाले विद्यार्थीहरूको डिजिटल तथा प्राविधिक शिक्षामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले शिक्षा क्षेत्रमा रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले पुर्याउँदै आएको योगदानको प्रशंसा समेत गर्नुभयो।
सो अवसरमा विद्यालयका विद्यार्थीहरूलाई २०० थान विद्यालय झोला वितरण गरिएको थियो भने आर्थिक अवस्था कमजोर भएका ५ जना विद्यार्थीलाई विद्यालय पोशाक प्रदान गरिएको थियो। विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा विद्यालय परिवारले उक्त सहयोगका लागि रोटरी क्लबप्रति आभार व्यक्त गरेका थिए।
विद्यालयका प्रधानाध्यापक भवानी आचार्यले प्राप्त सहयोगले विद्यालयको शैक्षिक तथा प्राविधिक विकासमा महत्वपूर्ण टेवा पुग्ने बताउँदै कम्प्युटर प्रयोगशालाको संरक्षण र प्रभावकारी उपयोगमा विद्यालय प्रतिबद्ध रहने बताउनुभयो।
कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष विष्णु शर्माले शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि रोटरी क्लब निरन्तर सक्रिय रहने उल्लेख गर्नुभयो। सामुदायिक सेवामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने रोटरीको अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने उहाँको भनाइ थियो।
कार्यक्रममा रोटेरियन हिरा बहादुर शाह, बिक्रम मल्ल, गोपाल शर्मा, शान्ति शर्मा आचार्य, राजेश अग्रहरी, उपेन्द्र यादव लगायतका सदस्यहरू तथा रोटेरियन स्पाउसहरू अर्चना मल्ल, श्वेता बडाल र सुनिता लम्सालको समेत उपस्थिति रहेको थियो।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
