२०८३, जेठ १९ गते

Jun 02 2026 | २०८३, जेठ १९ गते

मिटरब्याज पीडितद्वारा धनुषा जिल्ला अदालत घेराउ

मंगलवार , जेठ १९, २०८३

  • 301
    Shares
  • 301
    Shares
  • काठमाडौँ, १९ जेठ । अनुचित लेनदेन (मिटरब्याज) बाट पीडित भएकाहरूले न्यायको माग गर्दै धनुषा जिल्ला अदालत घेराउ गर्नुका साथै धर्ना दिएका छन् । 

    मिटरब्याज पीडित संघर्ष समितिको अगुवाइमा पीडितहरूले शुक्रबार अदालत परिसरमा प्रदर्शन गरेका हुन् । मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रिय अध्यक्ष अवधेश कुशवाहाको नेतृत्वमा भेला भएका पीडितहरूले सरकारले आफ्ना समस्या समाधानमा ठोस पहल नगरेको भन्दै आन्दोलनलाई थप सशक्त बनाएका हुन् ।

    उक्त अवसरमा आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष कुशवाहाले लामो समयदेखि न्यायका लागि संघर्ष गरिरहे पनि राज्य पक्षबाट आश्वासनबाहेक केही नपाएको गुनासो गर्नुभयो । उहाँले पटक–पटक गृहमन्त्री फेरिए पनि मिटरब्याज पीडितका मुद्दा सम्बोधन हुन नसक्नु दुःखद् भएको बताउनु भयो ।

    अध्यक्ष कुशवाहाले भन्नुभयो, ‘वर्तमान सरकारले सत्तामा जानुअघि हाम्रा समस्या समाधान गर्ने आश्वासन दिएको थियो। तर, सरकारमा पुगेपछि पीडितहरूमाथि झन् उजुरीको संख्या थपिएको छ र मानसिक तथा भौतिक प्रताडना दिने क्रम बढ्दो छ ।’

    पीडितहरूले अदालतको कार्यशैलीप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले अदालतबाट पीडितको पक्षमा भन्दा साहु–महाजनको पक्षमा बढी संरक्षण हुने गरेको आरोप लगाएका छन् ।

    यसअघि जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि समेत शान्तिपूर्ण धर्ना दिएका पीडितहरूले निष्पक्ष न्याय नपाएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् । न्यायका लागि आफूहरूको संघर्ष जारी रहने र माग पूरा नभए आन्दोलनलाई अझ उचाइमा पु¥याउने संघर्ष समितिले जनाएको छ ।