बिहिवार , जेठ २१, २०८३
भैरहवा । चुस्त व्यवस्थापन र नियमित प्रतियोगिताले रुपन्देहीको क्रिकेट सधै अग्रणी भाग रहँदै आएको छ । संघीय सरकारले न्यून बजेट विनियोजन गरे पनि प्रदेश र स्थानीय सरकारसँगको सहकार्य, निजी क्षेत्रको सहयोग र दूरदर्शी नेतृत्वले रुपन्देहीको क्रिकेट क्षेत्र नै बदलिएको छ । रुपन्देही क्रिकेट संघले कार्यतालिका नै बनाएर निरन्तर क्रिकेट प्रतियोगिता गराउने भएकाले जिल्लामा क्रिकेटको क्रेज बढ्दो छ ।
‘सिसी क्यामेराले रंगशाला क्षेत्र निगरानी गरिन्छ, व्यवस्थित कार्यालय छ भने मैदानको चारैतर्फ तारजाली लगाइएको छ । यति मात्रै होइन्, क्रिकेट एकेडेमी संचालन गरेर तल्लो तहबाटै खेलाडी उत्पादनमा ध्यान दिइएको छ’, रुपन्देही क्रिकेट संघका संस्थापक प्रेम कुमार सेन्चुरीेले भन्नुभयो–‘विगतमा धेरै काम भए । तर, प्रशान्त विक्रम मल्ल र हरि बहादुर थापा अध्यक्ष भएपछि व्यवस्थापकीय र पूर्वाधारका काम धेरै भए । खेलाडी र हामी पूराना व्यवस्थापनका टीम पनि निकै खुशी छौं ।’
संघले मुलुकमै जिल्लास्तरमा ९ जना महिला–पुरुष क्रिकेट खेलाडीलाई मासिक पारिश्रमिक सुविधा दिदै आएको छ । जसले गर्दा पछिल्लो सयम रुपन्देहीको क्रिकेट क्षेत्र नै बदलिएको छ । ‘जिल्ला संघले खेलाडीलाई पारिश्रमिक दिनु भनेकै नेपालकै इतिहासमा पहिलो हो’, क्रिकेट खेलाडी सुरती बुढाले भन्नुभयो, ‘यसबाट खेलाडीमा निकै उत्साह थपिएको छ ।’ उहाँले राम्रो व्यवस्थापन र नियमित प्रतियोगिताले आफूहरुलाई हौसला मिलेको सुनाउनुभयो ।
‘महिला क्रिकेट खेलाडीलाई गाडी भाडा समेत दिइन्छ, खाना लगायतका सुविधा पनि छन्’, उहाँले भन्नुभयो–‘यसले हाम्रो आत्मबल बढेको छ । नियमित क्रिकेट खेल्न प्रोत्सान मिलेको छ ।’ रुपन्देही क्रिकेट संघको चुस्त व्यवस्थापन र नियमित प्रतियोगितालले नयाँ नयाँ खेलाडी उत्पादन भइरहेका छन् । सधैभरी निजी एकेडेमीमा क्रिकेट सिक्न जाने बालबालिका अहिले क्रिकेट संघ आफैले संचालन गरेको एकेडेमीमा अभ्यास गरिरहेका छन् ।
दक्ष प्रशिक्षक नियुक्त गरी संघले पछिल्लो चार वर्षयता प्रशिक्षण कार्यक्रम संचालन गरिरहेको छ । अहिले पनि १५० प्रशिक्षार्थी प्रशिक्षणमा छन् । पूर्वाधार निर्माणदेखि खेलाडी उत्पादनसम्म संघले खेलेको भूमिकाले स्थानीय मात्रै होइन्, खेलाडी र प्रशिक्षक पनि खुशी छन् । ‘सबैभन्दा ठूलो कुरा महिला क्रिकेटको विकासका लागि विदाका दिन महिला खेलाडीहरुलाई संघले नै घर आउजाउको भाडा दिएर भैरहवा ल्याई सिद्धार्थ रंगशाला र एकेडेमीमा अभ्यास गराउँदै आएको छ । जसले गर्दा पुरुष मात्रै नभई महिला खेलाडी उत्पादनमा समेत बढ्दो छ’, क्रिकेटर आस्मी पुलामी मगरले भन्नुभयो–‘नियमित पारिश्रमिक नपाउने खेलाडीलाई पनि राम्रो गर्न प्रोत्साहन मिलेको छ । यस्तो सुविधा अरु कुनै पनि जिल्ला संघहरुमा छैन ।’
क्रिकेट संघले अहिले विद्यालय, प्लस टु र कलेजस्तरीय प्रतियोगिता नियमित गराउँदै आएको छ । यति मात्रै होइन नेपालमै जिल्लास्तरमा एक महिनासम्म सञ्चालन हुने एकदिवसीय क्रिकेट प्रतियोगिता रुपन्देही सुपर लिग पनि नियमित सञ्चालन गरिँदै आएको छ । निजी क्षेत्रको सहकार्यमा क्लब, विद्यालय र अन्तरदेशिय क्रिकेट समेत सञ्चालन हुँदै आएका छन् । यसले जिल्लामा खेलाडी उत्पादन र क्रिकेट क्रेज थप बढ्दो अवस्थामा छ ।
मैदानलाई व्यवस्थित बनाउने, खेल सञ्चालन योग्य राख्ने तथा दीर्घकालीन उपयोगका लागि संरक्षण गर्ने कामले जिल्लाको क्रिकेट वातावरणलाई थप सकारात्मक बनाएको रुपन्देही क्रिकेट एकेडेमीका प्रशिक्षक मान बहादुर थापा बताउनुहुन्छ । ‘पहिला क्रिकेट सिक्न निजी एकेडेमीमा भौतारिनुपर्ने खेलाडी अहिले संघले सञ्चालन गरेको एकेडेमीमा नियमित अभ्यास गरिरहेका छन्, यस्ता प्रशिक्षार्थीले जिल्लामा सञ्चालन हुने धेरै प्रतियोगितामा सहभागी हुने अवसर पनि पाएका छन्’, प्रशिक्षक थापाले भन्नुभयो, ‘एकेडेमीमा विपन्न तथा जेहेन्दारलाई निःशुल्क सिकाइन्छ ।’
विशेष गरी पीच निर्माण, संरक्षण र व्यवस्थापनमा गरिएको सुधारले खेलाडीहरुलाई गुणस्तरीय अभ्यास गर्ने अवसर प्रदान गरेको उहाँ बताउनुहुन्छ । ‘आकर्षक र व्यवस्थित पिच निर्माणले यहाँ हुने प्रतियोगिताको स्तर पनि उकासिएको छ । यही कारण यहाँ लगातार प्रधानमन्त्री कप जस्ता राष्ट्रिय प्रतियोगिता भएका छन्’, नेपाल क्रिकेट संघका पूर्वकार्यबाहक सचिव एवं संघका पूर्वअध्यक्ष प्रशान्त विक्रम मल्ल भन्नुहुन्छ–‘पाकिस्तान, बंगलादेश, भारत जस्ता देशका क्लबहरु पनि यही मैदानमा आएर क्रिकेट खेलेका छन् । यसले रंगशालाको गरिमा र क्रिकेट संघको व्यवस्थापनलाई थप उचाईमा पुर्याएको छ ।’
यहाँको मैदानमा राष्ट्रिय महिला तथा पुरुष टीमले पनि प्रशिक्षण लिइसकेका छन् । उमेर समूहका दर्जनौं प्रशिक्षण भएका छन् । व्यवस्थापन राम्रो भएकै कारण नेपाल क्रिकेट संघले पनि यहाँ धेरैपटक राष्ट्रिय खेलाडीलाई प्रशिक्षणमा पठाएको हो । संघीय सरकारले पर्याप्त बजेट छुट्याएको छैन । तर, पनि नेतृत्वको सक्रियता, पूर्वाधार विकास, खेलाडीमैत्री वातावरण, नियमित प्रशिक्षण तथा प्रतियोगिताले रुपन्देहीलाई राष्ट्रिय रुपमा दरिलो तरिकाले स्थापित गरिसकेको मल्ल बताउनुहुन्छ ।
रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले आफू नेतृत्वमा आएपछि सामूहिकताको भावनाले काम गरेकै कारण जिल्लाको क्रिकेट क्षेत्र नै बदलिएको बताउनुभयो । ‘सामूहिक भावना, क्रिकेट विकासको लक्ष्य, नियमित प्रतियोगिता, पूर्वाधार निर्माण, पारदर्शिता र समन्वय नै हाम्रो टीमले गरेका मुख्य काम हुन्’, उहाँले भन्नुभयो–‘गेट निर्माणदेखि एकेडेमी सञ्चालन, सीसीटीभी जडान र खेलाडीलाई पारिश्रमिक दिने काम गर्नु चानचुने विषय होइन । तर, हामीले निरन्तर लागेपछि यो सफलता पाएका हौं ।’ उहाँले संघसँग सहकार्य गरी निजी क्षेत्रले ठूलो सहयोग गरेको बताउनुभयो ।
स्थानीय, प्रदेश र संघ सरकारको ध्यान खिच्ने काम गरिरहेको संघले पछिल्लो समय निजी क्षेत्रको पनि राम्रो साथ पाएको छ । जसले गर्दा वर्षा यामबाहेक अन्यत्र समयमा नियमित प्रतियोगिता भइरहेका छन् । सिंगो कार्यसमितिले यसमा निरन्तर मिहिनेत गरिरहेका छन् । जसले गर्दा आज रुपन्देहीको क्रिकेटको गरिमा मुलुकमै एक नम्बरमा छ । ‘जिल्लामा क्रिकेटप्रतिको बढ्दो मोह, संघको दूरदृष्टि र खेलाडीहरुको मिहेनतले रुपन्देहीको क्रिकेटलाई नयाँ उचाई प्राप्त भएको छ । यही कारण जिल्लाबाट कयौं अब्बल खेलाडी उत्पादन भएका छन्’, अध्यक्ष थापाले भन्नुभयो–‘‘हामीले जसरी पनि यो रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने गरी सबै तह र निकायमा पहल गरिरहेका छौं ।’
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
