२०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

निर्वाचन सम्पन्न गराउनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा

शुक्रवार , जेठ २२, २०८३

  • 178
    Shares
  • 178
    Shares
  • काठमाडौँ, २२ जेठ । पूर्वमन्त्री अनिलकुमार सिन्हाले गत वर्षको भदौ २३ र २४ गतेको राजनीतिक घटनापछि गठित तत्कालीन अल्पकालीन सरकारको एक मात्र उद्देश्य मुलुकलाई राजनीतिक निकास दिनु रहेको बताउनुभएको छ । 

    उक्त समयमा सरकारको ध्यान राजनीतिमा भन्दा पनि निर्वाचनमार्फत लोकतान्त्रिक पद्धति स्थापित गर्नेतर्फ केन्द्रित रहेको उहाँले स्मरण गर्नुभयो । उहाँकाअनुसार तत्कालीन प्रधानमन्त्रीले समयमै निष्पक्ष, धाँधलीरहित र स्वतन्त्र निर्वाचन सम्पन्न गर्न स्पष्ट निर्देशन दिनुभएको थियो । निर्वाचन आयोग पूर्ण नरहेको र कार्यवाहकको भरमा चलेको भएपनि आयोगले प्रश्तुत गरेको परिपक्व कार्ययोजनाले निर्वाचनप्रतिको विश्वास जगाएको उहाँको भनाइ छ ।

    साथै, राजनीतिक दलहरूले पनि निर्वाचनलाई जनताको प्रतिनिधि छान्ने अवसरका रूपमा लिएर सहमति जनाएका थिए । आर्थिक व्यवस्थापनका सन्दर्भमा तत्कालीन अर्थमन्त्री रामेश्वर खनालले बजेटको अभाव हुन नदिने प्रतिवद्धता जनाउनुभएको र निर्वाचन आयोगले पनि मितव्ययिता अपनाउँदै स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकता दिएको उहाँले उल्लेख गर्नुभयो । तत्कालीन उद्योगमन्त्री समेत रहनुभएका सिन्हाले स्थानीय सामग्रीको अधिकतम प्रयोग गर्ने नीतिलाई आयोगले पनि हृदयङ्गम गरी निर्देशन जारी गरेकोमा खुशी व्यक्त गर्नुभयो । 

    उहाँले भन्नुभयो, ‘विषम परिस्थितिबाट हामी आज यहाँसम्म आइपुगेका छौँ । २३ र २४ गतेको घटनापश्चात गठन भएको एउटा अल्पकालीन सरकारको एउटै उद्देश्य राजनीतिक निकास दिनु थियो, राजनीति गर्नु थिएन । त्यो राजनीतिक निकासका निम्ति वा मार्ग प्रशस्त गर्नका निम्ति त्यस बेला तत्काल देखिएको एउटै उपाय निर्वाचन नै थियो ।

    सम्माननीय राष्ट्रपतिज्युबाट एउटा मिति पनि तोकिदिनुभएको थियो । त्यो दिनमा निर्वाचन सम्पन्न गराउन सकिन्छ वा सकिँदैन भन्ने सम्बन्धमा २४ गतेको घटनापछिको अवस्था हेर्दा, सबैभन्दा पहिले आफ्नो तयारी, आर्थिक अवस्था, सुरक्षा संयन्त्रहरूको तयारीलगायत विभिन्न पक्षहरूको समीक्षा गरियो। यस क्रममा मैले भन्नैपर्ने हुन्छ, वास्तवमा सबैभन्दा पहिले हामीले प्रमुख निर्वाचन आयुक्तज्यू र निर्वाचन आयुक्तज्यूहरूसँग सम्पर्क ग¥यौं ।

    सम्माननीय प्रधानमन्त्रीज्यूको एउटै भनाइ थियो, समयमै चुनाव हुनुपर्छ, निष्पक्ष, धाँधलीरहित एवं स्वतन्त्र रूपमा चुनाव सम्पन्न हुनुपर्छ, र कुनै अप्रिय घटना हुनु हुँदैन । उहाँले पटक–पटक प्रयोग गर्नुभएको एउटा वाक्यांश थियो, “एक थोपा रगत पनि जमिनमा खस्नु हुँदैन । हामीले त्यसैलाई मूल मन्त्रका रूपमा लिएर अघि बढ्यौँ । मलाई आज पनि सम्झना छ, त्यस बेला निर्वाचन आयोगप्रति केही अविश्वासको अवस्था थियो ।

    किनभने आयोग पूर्ण थिएन, दुई जना आयुक्तहरूको पद रिक्त थियो र प्रमुख निर्वाचन आयुक्त पनि हुनुहुन्नथ्यो, कार्यवाहकको रूपमा आयोग सञ्चालन भइरहेको थियो। तथापि, उहाँहरूले हामी गर्न सक्छौँ भन्दै एउटा कार्ययोजना लिएर आउनुभयो । कार्ययोजना हेर्दा निकै परिपक्व ढंगले तयार गरिएको थियो । अर्को तयारी राजनीतिक दलहरूलाई त्यसमा सहमत गराउनेतर्फ केन्द्रित थियो । उहाँहरूले पनि निर्वाचनलाई प्रजातान्त्रिक ढंगले जनताका प्रतिनिधि छान्ने अवसरका रूपमा लिनुभयो।

    सबैले एउटै चुनौती औँल्याइरहनुभएको थियो । सुरक्षा अवस्थाको सुनिश्चितता । आवश्यक बजेटको व्यवस्थाका सम्बन्धमा अर्थ मन्त्रालयबाट माननीय अर्थमन्त्री रामेश्वर खनालज्यूको पनि एउटै उद्देश्य थियो, रकम वा स्रोत–साधनको कुनै कमी हुन दिनु हुँदैन। उहाँले त्यसबारे स्पष्ट प्रतिवद्धता जनाउनुभएको थियो । त्यसैलाई आधार बनाएर काम अघि बढाइयो ।

    मितव्ययिताको कुरा उठेपछि मलाई अझै पनि याद छ, प्रमुख निर्वाचन आयुक्तज्यू र आयुक्तज्यूहरूले यथासम्भव मितव्ययिता अपनाउने, खरिद स्थानीय स्तरबाट गर्ने, तथा स्वदेशी उत्पादनको अधिकतम प्रयोग गर्ने नीति अपनाउनुभयो । म त्यस बेला उद्योग मन्त्री पनि भएकाले मेरो पहिलो निर्णयमध्ये एक थियो, स्थानीय रूपमा उत्पादित नेपाली सामानहरूको अधिकतम प्रयोग गर्ने । उहाँहरूले पनि त्यस कुरालाई हृदयंगम गरी आवश्यक निर्देशन जारी गर्नुभयो।

    यसले मलाई निकै खुसी तुल्याएको थियो । त्यसपछि यहाँ मैले उल्लेख गर्नैपर्ने अर्को पक्ष सुरक्षा संयन्त्रहरूको अवस्था हो । नेपाल प्रहरीका कतिपय स्थानहरूमा बस्ने बासको व्यवस्था थिएन, ओत लाग्ने छाना थिएन, खानका लागि पर्याप्त राशन थिएन, पकाउन भाँडाकुँडा थिएन, लगाउन आवश्यक पोसाकसमेत पर्याप्त थिएन । तर त्यस्तो अवस्थामा पनि उहाँहरूले एउटा प्रतिवद्धता व्यक्त गर्नुभयो, हामीले देशलाई निकास दिनैपर्छ, आफ्नो तर्फबाट अधिकतम प्रयास गर्छौँ । म त्यस बेलाका प्रहरी नेतृत्व, नेपाली सेनाका नेतृत्व तथा सम्पूर्ण सुरक्षा निकायप्रति आभार व्यक्त गर्न चाहन्छु ।’

    पूर्वमन्त्री सिन्हाले विषम परिस्थितिमा पनि निर्वाचन सफल बनाउन दृढ सङ्कल्पका साथ लाग्ने तत्कालीन नेपाली सेना, नेपाल प्रहरी र जिल्ला प्रशासनका कर्मचारीहरूको भूमिकाप्रति आभार समेत प्रकट गर्नुभयो ।