शनिवार , जेठ २३, २०८३
भैरहवा, २३ जेठ । रूपन्देही क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापति पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुराना तथा सक्रिय कार्यकर्ता सुमन न्यौपानेले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
पार्टी स्थापना कालदेखि नै संगठन निर्माण, जनसम्पर्क विस्तार र विभिन्न अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका न्यौपानेलाई त्यागी, इमानदार र उर्जाशील युवा नेताका रूपमा चिनिन्छ । क्षेत्रीय नेतृत्वका लागि उनको उम्मेदवारी सार्वजनिक भएसँगै स्थानीय तहका कार्यकर्ता तथा समर्थकहरू उत्साहित बनेका छन्।
रास्वपाको संगठन विस्तार र सुदृढीकरणमा निरन्तर खटिनुभएका न्यौपानेले पार्टीलाई अझ बलियो, व्यवस्थित र जनमुखी बनाउने लक्ष्यसहित उम्मेदवारी दिएको बताउनुभयो । उहाँले कार्यकर्ताको भावना, सुझाव र सहभागीतालाई केन्द्रमा राखेर संगठन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
क्षेत्रीय अधिवेशन नजिकिँदै जाँदा न्यौपानेको पक्षमा कार्यकर्ताको समर्थन बढ्दै गएको बताइन्छ । पार्टीभित्रको लामो सक्रियता, संगठनात्मक अनुभव र कार्यकर्तामाझ रहेको स्वीकार्यताका कारण उनलाई सभापति पदको बलियो दाबेदारका रूपमा हेरिएको छ ।
स्थानीय कार्यकर्ताहरूका अनुसार न्यौपानेले पार्टीका हरेक अभियानमा अग्रपंक्तिमा रहेर काम गरेका कारण नेतृत्वको जिम्मेवारी सम्हाल्न सक्षम व्यक्तिका रूपमा आफूलाई स्थापित गर्नुभएको छ । क्षेत्रीय नेतृत्वमा नयाँ उर्जा र प्रभावकारी कार्यशैलीको अपेक्षा गरिरहेका कार्यकर्ताले उहाँको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएका छन् ।
आगामी क्षेत्रीय अधिवेशनले रूपन्देही–३ मा रास्वपाको भावी नेतृत्व तय गर्ने भएकाले न्यौपानेको उम्मेदवारीले अहिले चर्चाको पाएको छ । भैरहवा निवासी न्यौपाने रास्वपा सिद्धार्थनगरको पूर्व नगर सभापति समेत हुनुहुन्छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
