२०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी दिने शक्ति गौचनको घोषणा

शनिवार , जेठ २३, २०८३

  • 448
    Shares
  • 448
    Shares
  • भैरहवा, २३ जेठ । पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर शक्ति गौचनले रुपन्देही क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । लुम्बिनी खुकुरी क्लब, बेलहियाले शनिबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा यही जेठ २५ गते हुने संघको निर्वाचनमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने गौचनले घोषणा गर्नुभएको हो ।

    क्रिकेट खेल र खेलाडीको समस्याको समाधान गर्न आफूले उम्मेदवारी दिन लागेको उहाँले बताउनुभयो । उहाँले २५ वर्षसम्म आफूले क्रिकेटको विकासमा योगदान पुर्याएको बताउनुभयो । गौचनले १८ वर्ष खेलाडीको रुपमा र खेलबाट सन्यास लिएपश्चात पनि क्रिकेट खेलको विकासमा निरन्तर लागिपरेको बताउनुभयो । समग्र क्रिकेट खेलको विकासका लागि रुपन्देही क्रिकेट संघको नेतृत्व गर्न आफूले चाहेको उहाँले बताउनुभयो । क्रिकेट प्रतियोगिता सञ्चालनका लागि प्रयाप्त भौतिक पूर्वाधार आवश्यक हुने उहाँको भनाइ छ । 

    ‘नेपाली क्रिकेटले छुट्टै पहिचान बनाएको छ, उहाँले भन्नुभयो–‘विगतमा रुपन्देही जिल्ला खेलाडी उत्पादनको जिल्लाको रुपमा चिनिन्थ्यो, अहिले केही संख्या घटेको छ, क्रिकेट क्षेत्रमा सुधारको आवश्यकता पनि छ, ’उहाँले भन्नुभयो । आफू अध्यक्षमा निर्वाचित भएपछि काम गरेर देखाउने उहाँले दावी गर्नुभयो । ‘निस्वार्थ भावले क्रिकेटको विकासका निम्ति लागिपरेका छौं र लाग्छौं, ’उहाँले भन्नुभयो । 

    त्यस्तै रुपन्देही क्रिकेट संघको उपाध्यक्ष पदका उम्मेदवार संजीव कुमार जोशीले क्रिकेट र पर्यटन क्षेत्रलाई सँगसँगै लैजाँदा आर्थिक चलायमानमा पनि टेवा पुग्ने बताउनुभयो । 

    पत्रकार सम्मेलनमा लुम्बिनी खुकुरी क्लबका अध्यक्ष महेश थापा, पूर्वअध्यक्ष राम बहादुर बस्नेत लगायतले बोल्नुभएको थियो ।