बुधवार , जेठ २७, २०८३
भैरहवा, २७ जेठ । सिद्धार्थ सञ्जाल, रुपन्देही र भैरहवा मर्निङ्गवाक गु्रप (बीएमजी) ले संयुक्त रुपमा ९ बुँदे सुझावसहित मंगलबार नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
आर्थिक वर्ष २०८३/०८४ को बजेटमा विद्युतमा कर (भ्याट) लगाइएकोले उक्त भ्याट खारेजी गर्नका लागि पहल गर्न सञ्जाल र बीएमजीले अनुरोध गरेका छन् ।
त्यस्तै पटकपटक विद्युत कटौती भइरहने (हाई भोल्टेज÷लो भोल्टेज) समस्याका कारण उद्योगी–व्यवसायीका मेशिनहरु बिग्रन गइ आम सर्वसाधारणका पंखा, फ्रिज, बल्ब लगायतका विद्युतबाट चल्ने उपकरणहरुमा क्षति पुगेकाले विद्युत प्रसारण नियमित गर्नुका साथै भोल्टेज कम र बढी हुने समस्या समाधान गर्नुपर्ने माग राखिएको छ ।
वर्षायाम सुरु भएको तथा हावाहुरी चल्ने सिजन भएको कारण यत्रतत्र विद्युतीय तारहरु पोलबाट लतरङ छरिएका कारण जुनसुकै समयमा पनि तार चुडिन, खस्न गइ मानवीय तथा अन्य भौतिक क्षति हुन सक्ने भएकोले उक्त तारहरु समयमै व्यवस्थित गरिनुपर्ने माग राखिएको छ ।
‘नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्र (कार्यालय) परिसरभित्र पर्याप्त स्थान रहेकोमा सवारीसाधन गेटबाहिर नालीमाथि पार्किङ गर्नुपर्ने अवस्था हुँदा उक्त कार्यले पैदलयात्रुलाई हिंड्न असुविधा भएकोले कार्यालयभित्र नै कार्यालय समयसम्म सेवाग्राहीका सवारीसाधन पार्किङको सुविधा मिलाउनुपर्ने देखिन्छ, ’ध्यानाकर्षणपत्रमा भनिएको छ ।
प्रत्येक कामको लागि आवश्यक पर्ने कागजातहरुको जानकारी सेवाग्राहीले देख्ने स्थानमा सूचीसहित बोर्ड बनाइ राख्नुपर्ने, बेलाबेलामा बिना सूचना विद्युत आपूर्ति बन्द हुने समय तथा विद्युत आउने समयको जानकारी आम जनतालाई एसएमएसबाट दिनुपर्ने, विद्युत कटौती भएको समयमा जनताले बिजुली कति समयमा आउँछ र के कारणले गएको हो भनी पटकपटक सम्पर्क गर्न खोज्दा सम्पर्क नहुनु समस्याको समाधान हुनुपर्ने माग गरिएको छ ।
विद्युत कार्यालयको बेबसाईटमा राखिएका नम्बरहरु पुरानो रहेको तथा हालसम्म नयाँ नम्बर अध्यावधिक नभएकोले अध्यावधिक गर्नुपर्ने र उपभोक्ताको हित संरक्षण तथा विद्युतको पहुँच विस्तारका लागि आवश्यक नीतिगत सुझाव सम्बन्धित निकायमा पठाउनुपर्ने समेत माग राखिएको भैरहवा मर्निङ्गवाक गु्रपका अध्यक्ष विजय सागर श्रेष्ठले बताउनुभयो ।
हाल विद्युत आपूर्तिमा देखिएका समस्या, भोल्टेज उतारचढाव, मर्मतसम्भारमा ढिलाइ लगायतका विषयले उपभोक्ताहरुलाई कठिनाइ भएको सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताउनुभयो । उहाँले विद्युत महसुलमा थप कर (भ्याट) लगाइनुले आम उपभोक्ता, साना व्यवसायी तथा उद्योगीहरुमा थप आर्थिक भार परेको बताउनुभयो ।
ध्यानाकर्षण पत्र बुझेपछि नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख इञ्जिनियर सुरज रेग्मीले कार्यालयबाट समाधान गर्न सकिने समस्या समाधानका लागि अघि बढ्ने बताउनुभयो । उहाँले कतिपय समस्या नीतिगत तहबाटै हल गर्नुपर्ने बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij