२०८३, श्रावण २४ गते

Aug 09 2026 | २०८३, श्रावण २४ गते

बढ्दो साइबर ठगी नियन्त्रण र साइबर ब्युरोलाई सशक्त बनाउन सांसद दर्शनाको माग

शुक्रवार , जेठ २९, २०८३

  • 763
    Shares
  • 763
    Shares
  • काठमाडौँ, २९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु दर्शनाले मुलुकमा पछिल्लो समय बढ्दै गएको साइबर अपराध र प्रविधिमार्फत हुने वित्तीय ठगीका घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

    प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद दर्शनाले सामाजिक सञ्जाल ह्याक गरी सर्वसाधारणको रकम लुट्ने गिरोह सक्रिय रहेको भन्दै तत्काल कारबाहीको माग गर्नुभएको हो । सांसद न्यौपानेले पछिल्ला केही प्रतिनिधि घटनाहरू प्रस्तुत गर्दै बुद्धनगर निवासी तारा पोखरेल र मोना पोखरेलको ह्वाट्सएप ह्याक गरी उनीहरूका परिचित व्यक्तिहरूबाट लाखौँ रुपैयाँ असुल गरिएको जानकारी दिनुभयो ।

    त्यसैगरी, अर्का पीडित सुधिरमान प्रधानको ह्वाट्सएपमा आइपीएस एक्टिभ गर्ने बहानामा आएको लिङ्क क्लिक गर्दा उनको बैंक खाताबाट पटक–पटक गरी १० लाख रुपैयाँ चोरी भएको घटना पनि उहाँले संसदमा प्रश्तुत गर्नुभयो । 

    उहाँले भन्नुभयो, ‘उहाँहरूको सामाजिक साख र इज्जतको फाइदा उठाउँदै ह्याकरले पैसा मागेपछि आफन्तहरूले विश्वासमा परेर रकम पठाएको देखिन्छ । ह्याकरहरूले नेपालमै वैधानिक रूपमा बैंक खाता खोलिरहेका छन्। सम्बन्धित निकायबाट सूचना प्राप्त हुनासाथ बैंकहरूले त्यस्ता शंकास्पद खाता तत्काल ब्लक गर्ने व्यवस्था मिलाउनुपर्छ ।’

    ठगीका यस्ता घटनामा संलग्न गिरोहले नेपालकै विभिन्न बैंकका खाताहरू र क्यूआर कोड प्रयोग गरिरहेको पाइएकाले त्यस्ता खाताहरूको पहिचान गरी तत्काल रोक्का गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    साइबर अपराधका उजुरीको चाप बढ्दो भएपनि अनुसन्धान गर्ने निकाय साइबर ब्युरोसँग सिमित स्रोतसाधन रहेको उल्लेख गर्दै उहाँले ब्युरोलाई थप शक्तिशाली र साधनस्रोत सम्पन्न बनाउन सरकारसँग माग गर्नुभयो । साथै, नागरिकमा डिजिटल साक्षरताको कमीका कारण यस्ता ठगीका घटनाहरू बढेको भन्दै सरकारले डिजिटल साक्षरता अभियान चलाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।