सोमवार , आषाढ १, २०८३
बुटवल, १ असार । रोट्रयाक्ट युथ आइकन–२०८३ को उपाधि सविता पोखरेलले जित्नुभएको छ । रुपन्देहीको बुटवलमा सम्पन्न फाइनल प्रतिष्पर्धामा पोखरेलले अन्य चारजना प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि जित्न सफल हुनुभएको हो । उपाधिसँगै उहाँले नगद २० हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नुभयो ।
त्यसै गरी प्रतियोगितामा लक्ष्मी गैरे द्वितीय र आकाश वली तृतीय हुनुभएको छ । द्वितीय हुने गैरेले नगद १५ हजार रुपैयाँ तथा तृतीय हुने वलीले नगद १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ ।
युवाहरूको नेतृत्व क्षमता, व्यक्तित्व विकास तथा वक्तृत्वकलाको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष आविष्कार खनालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको पहिलो चरणको अडिसनमा २७ जना विद्यार्थी सहभागी थिए । तीमध्ये उत्कृष्ट १५ जनालाई दोस्रो चरणका लागि छनोट गरिएको थियो भने दोस्रो चरणबाट उत्कृष्ट पाँचजना अन्तिम प्रतिष्पर्धाका लागि छनोट भएका थिए ।
फाइनल प्रतिष्पर्धाअघि ‘फ्रम प्यासन टु आइकन’ विषयमा प्यानल डिस्कसन सत्र आयोजना गरिएको थियो । उक्त सत्रमा युवा उद्यमी मोहन ठाकुर, कमलजंग कुँवर तथा शाइन रेसुंगा डेभलपमेन्ट बैंकका चिफ एचआर एन्ड स्ट्राटेजी प्रमुख प्रवास राई प्यानलिष्टका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रमको सहजीकरण समीक्षा पाण्डेले गर्नुभएको थियो । प्यानलिष्टहरूले आफ्नो संघर्ष, अनुभव, नेतृत्व विकास र सफलताका यात्राबारे विचार राख्दै युवाहरूलाई आफ्नो लक्ष्यप्रति प्रतिबद्ध रहन प्रेरित गर्नुभएको थियो ।
फाइनल प्रतिष्पर्धामा सहभागीहरूले ‘भोलिको नेपाल, पुर्खाको इतिहास र वर्तमानका हामी’ विषयमा ६ मिनेटभित्र आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो । प्रतियोगिताको निर्णायक मण्डलमा अमर खत्री, डा. आविष्कार पराजुली र माधव बेलवासे रहनुभएको थियो । प्रमुख निर्णायक अमर खत्रीका अनुसार विषयवस्तु तथा सन्देशलाई ३० अंक, प्रस्तुतीकरणलाई २५ अंक, भाषा तथा उच्चारणलाई २० अंक, मौलिकता तथा सिर्जनशीलतालाई १५ अंक तथा समय व्यवस्थापनलाई १० अंक छुट्याई कुल १०० पूर्णांकका आधारमा मूल्यांकन गरिएको थियो ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले युवाहरूलाई अनुशासित, आत्मविश्वासी तथा नेतृत्व गर्न सक्षम बनाउन यस्ता प्रतियोगिताहरूले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
प्रतियोगिताका सहभागी सानिया पठान र आइश्का ढकालले पनि प्रतियोगितामा सहभागी हुँदा प्राप्त अनुभव, सिकाइ तथा आत्मविश्वास वृद्धिका विषयमा आफ्ना अनुभूति सुनाउनुभएको थियो । उहाँहरूले यस्ता कार्यक्रमले युवाहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै नेतृत्व र व्यक्तित्व विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
कार्यक्रममा रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनका पूर्वअध्यक्ष जीवनप्रसाद अधिकारी, रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका आइपिडीआरआर विक्रम क्षेत्री, डीआरआर नोमिनी गौरव सुवेदी, मुख्य प्रशिक्षक रमेश अर्याल, रोटरी क्लब अफ बुटवल डाउनटाउनका प्रेसिडेन्ट नोमिनी तथा बीबीसी ग्लोबल एजुकेशनका सञ्चालक डीबी रायमाझीलगायतले भनाइ राख्नुभएको थियो ।
यसैबीच, प्रतियोगितासँगै आयोजित साँस्कृतिक कार्यक्रममा गायक बसन्त श्रेष्ठले आफ्नो सांगीतिक प्रस्तुति दिनुभएको थियो । त्यस्तै अलिशा सुवेदी लगायतका कलाकारहरूले आकर्षक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउनुभएको थियो ।
कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष बाबुराम बन्जाडे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, प्रेस चौतारी रुपन्देहीकी अध्यक्ष भगवती पाण्डे, क्लबका पूर्वअध्यक्षहरू बालकृष्ण पाण्डेय, लक्ष्मण पन्थी, रामप्रसाद बेल्बासे, सौरभ भुसाल तथा आइपिपी डिल्ली राज ढकाल लगायतको उपस्थिति थियो । साथै, रोट्रयाक्ट डिष्ट्रिक्टका पदाधिकारीहरू, छिमेकी क्लबका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरू, क्लबका बोर्ड सदस्य तथा अन्य सदस्यहरूको समेत सहभागीता रहेको थियो ।
कार्यक्रमको सहजीकरण क्लबका सचिव केशव पौडेलले गर्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij