२०८३, आषाढ ५ गते

Jun 19 2026 | २०८३, आषाढ ५ गते

सडक किनारका भान्सा र बदलिँदो पर्यटन चुनौती र नयाँ अवसर

शुक्रवार , आषाढ ५, २०८३

  • 790
    Shares
  • 790
    Shares
  • यतिबेला नेपालका विभिन्न सामाजिक सञ्जालहरूमा भारतीय निम्न–मध्यम वर्गीय तीर्थयात्रीहरूले सडक किनारमा भाँडाकुँडा फिँजाएर खाना पकाएको, सार्वजनिक पार्क एवं पुलका रेलिङहरूमा लुगा सुकाएको र जथाभावी फोहोर गरेको विषयलाई लिएर तीव्र बहस, चिन्ता र आक्रोश भइरहेको छ । कतिपय नागरिक तथा पर्यटन व्यवसायीहरूले यसलाई वातावरणीय प्रदूषण, पर्यटकीय क्षेत्रको कुरुपता र साँस्कृतिक मर्यादाविपरीतको कार्य भन्दै कडा आलोचना गरिरहेका छन् । उनीहरूले यस्ता गतिविधिले नेपालको अन्तर्राष्ट्रिय पर्यटनको छवि धमिलिने र गुणस्तरीय पर्यटकहरू आउन छाड्ने तर्क अघि सारेका छन् । अर्कोतर्फ समाजका सचेत वर्ग र विश्लेषकहरूले यसलाई पर्यटकको असभ्यता भन्नु भन्दा पनि हाम्रो राज्य संयन्त्र र पर्यटन पूर्वाधारको अभाव, व्यवस्थापकीय कमजोरीका रूपमा औंल्याएको देखिएको छ । वास्तवमा पोखरा–मुक्तिनाथ कोरिडोर, सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग र देशका अन्य प्रमुख धार्मिक मार्गहरूमा हालै देखिएको यो बृहत् एवं अभूतपूर्व पर्यटक–प्रवाहले नेपालको समग्र पर्यटन उद्योगलाई एउटा गम्भीर सन्देश, समयमै सजकता नयाँ पाठ सिकाएको छ ।

    पर्यटन भनेको केवल आधुनिक तारे होटलमा बस्ने, महँगा गाडीमा सरर घुम्ने, साहसिक पर्यटन खरिद गर्ने,  क्यासिनोमा रमाउने उच्च वर्गीय धनाढ्यहरू मात्र हुन् भन्ने जुन हाम्रो परम्परागत र संकुचित सोच छ, त्यसबाट माथि उठेर अब हामीले बजारको वास्तविक माग र भुइँतहको सत्यता अनुसार नयाँ पर्यटकीय उत्पादन नयाँ प्रोडक्ट वा विधा (एचयमगअत म्भकष्नल० को खोजी, विकास र परिमार्जन गर्न ढिला भइसकेको हो कि भन्ने विषय सडक पर्यटनले उजागर गरेको छ ।  नेपाल घुम्न आउने आउने भारतीय पर्यटकहरूको मनोविज्ञान, उनीहरूको वर्गीय विविधता र विशिष्ट सांस्कृतिक पृष्ठभूमिलाई नबुझी सामाजिक सञ्जालमा गरिने सतही र आवेगात्मक टिप्पणीले अन्तत् हाम्रो पर्यटन क्षेत्रलाई नै दूरगामी नकारात्मक असर पुर्याउँछ भन्ने चिन्ता एक थरी विश्लेषहरुको देखिन्छ ।

    सबै भारतीय पर्यटकहरूलाई हामीले एउटै डालोमा राखेर हेर्नुहुँदैन । उनीहरूमा प्रष्ट वर्गीय भिन्नता छ  एउटा वर्ग दिल्ली, मुम्बई वा कोलकाता जस्ता महानगरहरूबाट काठमाडौं, पोखरा, भैरहवा र चितवनका पाँचतारे होटलहरूमा बस्ने, क्यासिनो खेल्ने, रात्रीकालीन जीवनको आनन्द लिने र खर्चालु विलासिता मन पराउने प्रकृतिको छ यो वर्गले नेपालको बैंकिङ र होटल व्यवसायमा ठूलो वैदेशिक मुद्रा भित्र्याउँछ, जसमा कुनै शंका छैन । त्यस वर्गलाई नेपालका आकर्षण गर्न गरी सबैको ध्यान जानुपर्दछ भन्ने सबै सरोकारवालाहरु एकमत छन् । तर, भारतीय पर्यटकहरुको हकमा अर्को पाटो पनि छ जुन त्यो भन्दा ठूलो र व्यापक वर्ग छ । जो विशुद्ध धार्मिक आस्था, आध्यात्मिक शान्ति र साँस्कृतिक सामिप्यताका कारण नेपाल आउने गर्दछन् ।

    विशेष गरी नेपालसँग सीमा जोडिएका उत्तरप्रदेश, बिहार तथा त्योभन्दा भित्रका राजस्थान, गुजरात र मध्यप्रदेशका ग्रामीण तथा अर्ध–शहरी क्षेत्रबाट मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरधाम, स्वर्गद्वारी र लुम्बिनी जस्ता पवित्र धामहरूको दर्शनका लागि बस नै रिजर्भ गरेर आउने यी निम्न–मध्यम वर्गीय तीर्थयात्रीहरूको आफ्नै खाँटी संस्कार, जीवनशैली र सीमित बजेट हुन्छ । यात्राका क्रममा आफ्नै हातले चोखो र शाकाहारी खाना बनाएर खाने, प्याज–लसुन बिनाको भोजन ग्रहण गर्ने उनीहरूको धार्मिक परम्परा, निष्ठा र बाध्यता दुवै हो ।  
     
    उनीहरू हाम्रा होटलमा पाइने खानपान र वातावरणमा सहज महसुस गर्दैनन् । तसर्थ, उनीहरूलाई उपयुक्त विकल्प र व्यवस्थित पूर्वाधार नै नदिइ सिधै अशिष्ट’ वा विदेशी फोहोर को बिल्ला भिराउनु भन्दा उनीहरूको रुची र आवश्यकता सुहाउँदो विधागत पर्यटकीय उत्पादन तयार गरी उनीहरुलाई पनि सत्कार गर्ने गरी व्यवस्थापन गर्नु नै आजको राज्य र निजी क्षेत्रको मुख्य दायित्व हो । यस संवेदनशील सन्दर्भमा हालैको यो ठूलो पर्यटक प्रवाहले हाम्रो पर्यटन पूर्वाधारको जीर्ण धरातल र राज्यको कमजोर व्यवस्थापकीय क्षमतालाई सडक सञ्जालमै उदाङ्गो पारिदिँदै मुख्य दुईवटा ऐतिहासिक सन्देश दिएको छ, जसलाई आत्मसात् गर्नुको विकल्प छैन । पहिलो हाम्रा राजमार्ग र मुख्य पर्यटकीय मार्गहरूमा पर्याप्त, आधुनिक र सम्मानजनक सार्वजनिक शौचालयको निर्माण गर्नु हो । यो भारतीय पर्यटकहरुको लागि मात्र हाइन, आन्तरिक पर्यटकको रुपमा नेपालका मुख्य राजमार्गहरु प्रयोग गर्ने नेपालीहरुको लागि पनि हो भन्ने बुझ्नुपर्दछ । अहिलेको यथार्थ अवस्था हेर्ने हो भने नेपालका कुनै पनि राष्ट्रिय राजमार्ग वा पर्यटकीय कोरिडोरहरूमा यात्रुमैत्री सार्वजनिक शौचालयको चरम अभाव छ  भएका एकाध शौचालयहरू पनि उचित रेखदेख र पानीको अभावमा प्रयोग गर्नै नसकिने गरी दुर्गन्धित, लेसिलो र महामारी फैलाउने खालका छन् । यस्तो विजोग र अमानवीय अवस्थामा हजारौं किलोमिटरको यात्रा तय गरेर आएका, जसमा महिला, बालबालिका र वृद्धवृद्धाहरू समेत हुन्छन्, उनीहरूलाई मात्र दोष दिनु कदापि न्यायसंगत हुन सक्दैन ।

    त्यस्तै  मानवीय आवश्यकता पूरा गर्ने न्यूनतम विकल्प, प्रविधिको प्रयोग र ठाउँ नै उपलब्ध नगराई उनीहरूको प्राकृतिक बाध्यतालाई सभ्यताको कसीमा जोखेर कमजोरी ठान्नुले कतै हामीलाई नै प्रश्न गरिरहेका छ छैनन् ? त्यसैले, संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरूले तत्कालै तदारुकता देखाएर राजमार्गका निश्चित दूरीहरूमा आधुनिक, अपांगमैत्री, सफा र व्यवस्थित शौचालयहरू निर्माण गर्नुपर्छ । यस्ता पूर्वाधार सञ्चालनका लागि आवश्यक परे निश्चित र व्यवहारिक शुल्क असुल गर्न सकिन्छ र उनीहरूलाई सफा पूर्वाधार र मानवीय अधिकार दिनुपर्ने आतिथ्य राष्ट्रको दायित्व हो भने दोस्रो यी विशिष्ट पर्यटक÷यात्रीको खाँचो, परम्परागत रुची र आर्थिक क्षमता (बजेट) अनुरुपका होटल, सःशुल्क सुरक्षित अतिथि गृह र व्यवस्थित सामूहिक भान्छाहरूको स्थापना गरी पर्यटन क्षेत्रमा नँया प्रोडक्ट पस्कने दायित्व निजी क्षेत्रको पनि हो जसबाट फरक तरिकाले आर्जन गर्न सकिन्छ ।

    नेपालमा यहाँ कि त अत्यधिक महंगा लक्जरी होटल र रिसोर्टहरू छन्, कि त रैथाने नेपाली स्वादका साना रेष्टुरेण्टहरू छन्, जसले भारतीय तीर्थयात्रीहरूको विशिष्ट आवश्यकता, शुद्ध शाकाहारी चोखोपन र सामूहिक बसाइको मागलाई सम्बोधन गर्न नसकेको हो की भन्ने प्रश्नको उत्तर खोज्ने बेला भएको छ । एउटै बसमा आउने ४०–५० जनाको समूहले सस्तोमा एकै ठाउँमा बस्न र आफ्नै तरिकाले पकाउन चाहन्छ । यो मागलाई सम्बोधन गर्न मुख्य राजमार्ग, नदी किनारका सुरक्षित चोकहरू र धर्मशालाहरूमा सामुदायिक भान्छाको नयाँ अवधारणा ल्याउने वा स्थानीय वा निजी क्षेत्रले खुला तर, छानो भएको ठूलो कम्पाउण्ड निर्माण गरी त्यहाँ निश्चित शुल्क लिएर ग्यास, स्वच्छ पिउनेपानी, बत्ती र भाँडाकुँडा माझ्ने व्यवस्थित ठाउँ उपलब्ध गराउने हो भने यसो गर्दा सडक किनारमा हुने फोहोर हुने जोखिम हट्नेछ  । साथै  भारतबाट आउने निम्न–मध्यम वर्गीय तीर्थयात्रीे पाँचतारे होटलमा डलर खर्च नगरे पनि उनीहरूले स्थानीय बजारबाट तरकारी, खाद्यान्न, फलफूल खरिद गर्न सक्छन् । स्थानीय साना चिया पसल, खुद्रा व्यापारी, बुटिक तथा हस्तकलाका सामग्री बेच्ने स्थानीय व्यवसायीहरूको जीविकोपार्जनमा योगदान दिन सक्छन् भन्ने विषयलाई पनि मनन् गर्नु आवश्यक छ ।

    अबको बाटो भनेको पूर्वाधार निर्माण र विधागत पर्यटकीय उत्पादनको विविधिकरण, माग अनुसारको नयाँ पर्यटकीय उत्पादन, उचित मार्गनिर्देशन र व्यवस्थित पूर्वाधार निर्माण गरेर बाह्रै महिना चल्ने पर्यटकीय अवसरमा बदल्न सक्छौ । साथै यस बहसको प्ररुप अनुसार  पर्यटकहरु आउने मुख्य सीमा नाका विशेष गरी भैरहवा नाका लगायतमा सरकारकोतर्फबाट व्यवस्थित र आधुनिक अध्यागमन कार्यालयमार्फत त्यस्ता साना आम्दानी भएका पर्यटकरुको संख्याको पहिचान र त्यसले नेपालको पर्यटन क्षेत्रका पुर्याएको योगदानको पहिचान र विश्लेषणसहित पर्यटन नीति निर्माण गर्ने कार्य तत्कालै थाल्नुपर्ने देखिन्छ । अन्यमा पर्यटन बाटने सम्मृद्धिको अपेक्षाका साथ  पाहुनाको वर्गीय धरातल जस्तोसुकै भए पनि अतिथि देवो भवः को मूल मन्त्रलाई व्यवहारिक रूपमै प्रमाणित गर्दै पर्यटन पूर्वाधारमा नव–उत्पादनको खोजी गर्नु र गुणस्तरीय पर्यटकको संख्यामा बृद्धिको योजना बनाउँदै अगाढी बढ्नु हामी सबैको दायीत्व हो ।