२०८३, आषाढ १६ गते

Jun 30 2026 | २०८३, आषाढ १६ गते

पत्रकार महासंघ रुपन्देहीद्वारा तीनजना पत्रकार पुरस्कृत

सोमवार , आषाढ १५, २०८३

  • 361
    Shares
  • 361
    Shares
  • रुपन्देही, १५ असार । नेपाल पत्रकार महासंघ रुपन्देहीले तीनजना पत्रकारलाई पुरस्कृत गरेको छ । महासंघले स्थापना गरेको उत्कृष्ट पत्रकारिता पुरस्कार–२०८२ तथा सूर्यप्रसाद विकास पत्रकारिता पुरस्कार–२०८२ बाट रुपन्देहीका तीनजना पत्रकारलाई पुरस्कृत गरिएको हो ।

    बुटवल उपमहानगरपालिकाको सहकार्यमा स्थापित उक्त पुरस्कार सोमबार बुटवलमा आयोजित विशेष समारोहमा प्रदान गरिएको हो ।

    उत्कृष्ट पत्रकारिता पुरस्कार–२०८२ बाट पत्रकार अमृत गिरी पुरस्कृत हुनुभएको छ । गिरीले नगद एकलाख रुपैयाँसहित सम्मानपत्र प्राप्त गर्नुभयो । उहाँ हाल मेचीकाली दैनिकमा कार्यरत हुनुहुन्छ ।

    त्यस्तै सूर्यप्रसाद विकास पत्रकारिता पुरस्कार–२०८२ बाट पत्रकार छवि पाण्डे र माया केसी पुरस्कृत हुनुभएको छ । उहाँहरूले जनही ५० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्राप्त गर्नुभयो । पाण्डे गोरखापत्र दैनिक र केसी बुटवल टुडे दैनिकमा कार्यरत हुनुहुन्छ ।

    पत्रकारितामार्फत सत्य, निष्पक्ष र जनपक्षीय सूचना प्रवाह गर्दै समाजमा पुर्याएको योगदानको कदरस्वरूप उहाँहरूलाई सम्मान गरिएको हो ।

    कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो । उहाँले सत्य र जिम्मेवार पत्रकारिताले समाजलाई सही दिशा दिने बताउनुभयो । स्थानीय सरकारले पत्रकारिताको विकास र प्रेस स्वतन्त्रताको संरक्षणमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

    नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष नितु पण्डितले बदलिँदो चुनौतीका बीच पत्रकारिताले विश्वसनीयता र व्यावसायिक निष्ठा कायम राख्नुपर्ने बताउनुभयो । उहाँले यस्ता पुरस्कारले पत्रकारलाई थप जिम्मेवार र अनुसन्धानमूलक पत्रकारितातर्फ प्रेरित गर्ने बताउनुभयो ।

    बुटवल उपमहानगरपालिकाको उपप्रमुख सावित्रादेवी अर्यालले स्वतन्त्र प्रेस लोकतन्त्रको बलियो आधार भएको उल्लेख गर्दै पत्रकारितामा महिलाको बढ्दो सहभागिता उत्साहजनक रहेको बताउनुभयो ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले सत्य सूचना प्रवाहले नागरिक र राज्यबीच विश्वास बढाउने भन्दै जिम्मेवार पत्रकारिताको आवश्यकता औंल्याउनुभयो ।

    पुरस्कार मूल्यांकन समितिकातर्फबाट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाईंले पत्रकारितामा दीर्घ योगदान, व्यवसायिक निष्ठा र समाजप्रतिको उत्तरदायित्वका आधारमा पुरस्कार छनोट गरिएको जानकारी दिनुभयो ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले गुणस्तरीय पत्रकारितालाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको बताउँदै यसले पत्रकारहरूको मनोबल बढाउने विश्वास व्यक्त गर्नुभयो । 

    कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेल, महासंघ रुपन्देहीका सचिव सीपी खनाल, पुरस्कृत पत्रकार अमृत गिरी, छवि पाण्डे र माया के.सी. लगायतले बोल्नुभएको थियो ।