२०८३, आषाढ २० गते

Jul 04 2026 | २०८३, आषाढ २० गते

थैव समाजद्वारा वनवाटिकालाई कुर्ची हस्तान्तरण

शनिवार , आषाढ २०, २०८३

  • 385
    Shares
  • 385
    Shares
  • बुटवल, २० असार । थैव समाजले तिलोत्तमा नगरपालिकास्थित शकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) लाई २० वटा प्लाष्टिकका कुर्ची हस्तान्तरण गरेको छ । वनवाटिकामा आयोजित एक कार्यक्रमबीच समाजले शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र वनवाटिकाका लागि कुर्ची हस्तान्तरण गरेको हो ।

    कार्यक्रमका प्रमुख अतिथि तथा वनवाटिकाका अध्यक्ष खिमलाल पाण्डेले थैव समाजले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले यस्ता सहयोगले वनवाटिकामा सञ्चालन हुने सामाजिक, शैक्षिक, वातावरणीय तथा अन्य सार्वजनिक कार्यक्रमलाई थप सहज बनाउने बताउनुभयो । उहाँले वनवाटिकाको संरक्षण र विकासमा सामाजिक संघ–संस्थाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै सहकार्य र सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

    कार्यक्रमको अध्यक्षता गर्नुभएका थैव समाजका ज्येष्ठ नागरिक लोकमान थैवले समाजले यसअघि वनवाटिकामा सेड निर्माण गरेको स्मरण गराउनुभयो । उहाँले वनवाटिकाको संरक्षण सबैको साझा दायित्व भएको बताउनुभयो । उहाँले समाजले उपलब्ध गराएका संरचना र सामग्रीको उचित संरक्षण गर्न आग्रह गर्दै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    वनवाटिका उपाध्यक्ष मिनप्रसाद देवकोटाले स्थानीय समुदाय र सामाजिक संघ–संस्थाको सहकार्यबाट वनवाटिकाको विकासले गति लिइरहेको बताउनुभयो । उहाँले थैव समाजको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । यस्ता सहकार्यले वनवाटिकालाई थप व्यवस्थित र आकर्षक बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो ।

    थैव समाजका कोषाध्यक्ष यज्ञश्वर थैवले वनवाटिका वातावरण संरक्षण, पर्यटन प्रवद्र्धन तथा सामाजिक गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएको उल्लेख गर्नुभयो । समाजले आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रममा समाजका सह–सचिव अयोध्या थैव, सदस्यहरू प्रदीप थैव, सबिन्द्र थैव, दिनेश कुमार (श्रेष्ठ) थैव लगायतको सहभागीता थियो । सहभागीहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका यस्ता कार्यले समुदाय र संस्थाबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका थिए ।

    थैव समाजले सामाजिक सेवा, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा निरन्तर सक्रिय रहने जनाउँदै वनवाटिकाको संरक्षण, पूर्वाधार विकास तथा आवश्यक सामग्री व्यवस्थापनमा आगामी दिनमा पनि सहकार्यलाई थप प्रभावकारी बनाउने जनाएको छ । कार्यक्रमको सञ्चालन थैव समाजका सचिव महेश थैवले गर्नुभएको थियो ।