२०८३, आषाढ २१ गते

Jul 05 2026 | २०८३, आषाढ २१ गते

भैरहवामा अग्रज पत्रकारहरु सम्मानित

शनिवार , आषाढ २०, २०८३

  • 499
    Shares
  • 499
    Shares
  • भैरहवा, २० असार । रुपन्देहीमा १२ जना अग्रज पत्रकारहरुलाई सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ, रुपन्देहीले भैरहवामा आयोजना गरेको अग्रज पत्रकार सम्मान, लेखनवृत्ति वितरण तथा फेलोसिप कार्यक्रममा पत्रकारहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा भैरहवा कार्यक्षेत्र भइ पत्रकारिता सुरु गरेका र वि.सं. २०२५ सालदेखि २०५५ सालसम्म सक्रिय पत्रकारिता गरेका १२ जना पत्रकारलाई अग्रज पत्रकार सम्मान प्रदान गरिएको थियो।

    अग्रज पत्रकारहरु करुणानिधि शर्मा, डा. बालकृष्ण चापागाईं, मदनलाल पौड्याल, देवी पाण्डे, बुँद राना, प्रा.डा. गितु गिरी, लक्ष्मीनाथ ज्ञवाली, नारायण प्रसाद सापकोटा, बद्री पाण्डे, रामेश्वर भट्ट, गोबिन्दबन्धु अर्याल र नारायण ज्ञवालीलाई सम्मान गरिएको पत्रकार महासंघ, रुपन्देहीका कोषाध्यक्ष नरेश के.सी.ले बताउनुभयो ।

    अग्रज पत्रकारहरुलाई सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, पूर्व नगरप्रमुख हरि प्रसाद अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेल र पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले सम्मान गर्नुभएको थियो ।

    सिद्धार्थनगर नगरपालिकासँगको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रममा १० जना युवा पत्रकारलाई लेखनवृत्ति समेत प्रदान गरिएको छ । कार्यक्रम संयोजक समेत रहनुभएका कोषाध्यक्ष के.सी.का अनुसार लेखनवृत्ति पाउनेमा राधेश्याम विश्वकर्मा, दीपक घिमिरे, पुनहरि बेल्बासे, प्रकाश न्यौपाने, मोहम्मद हबिब, एलिना आचार्य, विष्णु भट्टराई, सरिना मरासिनी, अस्मिता अधिकारी र प्रतीक पौडेल रहनुभएको छ ।

    कार्यक्रममा बोल्नुहुँदै नगरप्रमुख खाँले लोकतान्त्रिक समाजको मेरुदण्डको रुपमा स्वतन्त्र, निष्पक्ष, जिम्मेवार र उत्तरदायी पत्रकारिताको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले नागरिकलाई सत्यतथ्य, विश्वसनीय सूचना उपलब्ध गराउने कार्यमा पत्रकारहरु निरन्तर समर्पित हुँदै आउनुभएको बताउनुभयो । नगरप्रमुख खाँले पत्रकारिता केवल समाचार सम्प्रेषण गर्ने माध्यम मात्र नभइ समाजलाई सही दिशा दिने, जनचेतना अभिवृद्धि गर्ने, सुशासन प्रवद्र्धन र लोकतान्त्रिक मूल्य–मान्यतालाई सुदृढ बनाउने सशक्त माध्यम पनि भएको उल्लेख गर्नुभयो । उहाँले सञ्चार क्षेत्रले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

    त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले अग्रज पत्रकारहरुको अतुलनीय योगदानका कारण आफूहरु यहाँसम्म आइपुगेको बताउनुभयो । उहाँले अग्रज पत्रकारहरुको कुरा सुनेर सम्मान गर्नुपर्ने बताउनुभयो । केन्द्रीय सदस्य पोख्रेलले इतिहासलाई बिर्सन नहुने बताउनुभयो ।

    पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले अग्रज पत्रकारहरुलाई सम्मान र युवा पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले अग्रज पत्रकारहरुको अनुभव सुन्न पाउनु महत्वपूर्ण विषय भएको बताउनुभयो ।

    कार्यक्रममा अग्रज पत्रकार डा. बालकृष्ण चापागाईं, नारायण प्रसाद सापकोटा, मदनलाल पौड्याल, देवी पाण्डे, बुँद राना, प्रा.डा. गितु गिरीलगायतले पत्रकारिताको महत्व कहिल्यै नघट्ने उल्लेख गर्नुभयो ।

    पत्रकार महासंघ, रुपन्देहीका सचिव सी.पी.खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो