२०८३, श्रावण ५ गते

Jul 21 2026 | २०८३, श्रावण ५ गते

रोटरी क्लब अफ बुटवलको अध्यक्षमा यदुनाथ पाण्डेय

सोमवार , श्रावण ४, २०८३

  • 463
    Shares
  • 463
    Shares
  • बुटवल, ४ साउन । रोटरी क्लब अफ बुटवलको ३४ औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक समारोहकाबीच वर्ष २०२५/०२६ का अध्यक्ष कृष्ण पराजुलीले वर्ष २०२६/०२७ का अध्यक्ष यदुनाथ पाण्डेयलाई पद हस्तान्तरण गर्नुभयो ।

    कार्यक्रमको रोटरी डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गर्भनर ईलेक्ट प्रा.डा आईपी ढकालले उद्घाटन गर्दै समुदायस्तरमा रोटरीको बारेमा बुझाउन जरुरी रहेको बताउनुभयो । विश्वव्यापी रुपमा क्लब कल्चरमा परिवर्तन ल्याउने, माईण्ड सेन्ट चेन्ज, विश्वासको भावना कायम गर्ने, आफना क्लबका सदस्यहरुलाई महत्व दिने जस्ता नयाँ सोच र परिवर्तन रोटरीमा ल्याउन जरुरी रहेको उहाँले बताउनुभयो ।

    कार्यक्रममा रोटरी वर्ष २०२६/०२७ का अध्यक्ष यदुनाथ पाण्डेयले आफ्नो कार्यकालमा क्लबबाट गर्ने वार्षिक योजना पेश गर्दै स्थानीय सरकारसँग सहकार्य गरी विकास निर्माणमा अग्रसर रहेको बताउनुभयो । क्लबलाई प्रविधिमैत्री बनाउन प्रशिक्षण, वनवाटिकामा एनिमल एम्बुलेन्स, मोबाईल आई क्लिनिक भ्यान हस्तान्तरण लगायत अभियान चलाउने प्रतिबद्घता गर्नुभयो । क्लब सदस्य संख्या वृद्धि गर्ने प्रतिवद्धता अनुसार कार्यक्रममा २५ जना नयाँ सदस्य भित्राउन सफल भएको उहाँले जानकारी दिनुभयो । यसैबीच नवनिर्वाचित अध्यक्ष पाण्डेयले बोर्डका पदाधिकारी र सदस्यलाई पद तथा गोपनीयताको सपथग्रहण गराउनुभयो ।

    कार्यक्रममा वर्ष २०२५/०२६ का अध्यक्ष कृष्ण पराजुलीले रोटरी नेतृत्व लिएसँगै व्यक्तिगत र सामाजिक क्षेत्रमा धेरै सिकाइ भएको बताउनुभयो । उहाँले कार्यक्रममा बुबाआमा धर्मा–कौशिलाको स्मृतिमा १ लाख रुपैयाँ बराबरको धर्मा–कौशिला गुरुकुलम छात्रवृत्ति स्थापनाको घोषणा गर्नुभयो । जसको ब्याज रकमबाट वार्षिक रुपमा गुरुकुल अध्ययन गर्ने विद्यार्थीलाई १० हजार रुपैयाँ बराबर छात्रवृत्ति प्रदान हुनेछ । आफनो कार्यकालमा वार्षिक कार्ययोजना अन्तरगत विभिन्न कार्यक्रमका संयोजक तथा बोर्डलाई उहाँले मायाको चिनो प्रदान गर्नुभयो ।

    कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरभित्रका क्लबहरुसँग सहकार्य गरी सामूहिक विकासको योजना बनाउने आफु अग्रसर रहेको बताउनुभयो । नगरभित्र युवालक्षित शिक्षा, स्वास्थ्य, सीप, तालिम लगायतमा क्लबहरुको साथ र सहयोग साथै ठूला विकासका योजनामा समेत परिणाममुखी लगानीको वातावरण बनाउन उहाँले आग्रह गर्नुभयो ।

    कार्यक्रममा क्लबका एसाईन एजी ओम जैसी, डिष्ट्रिक सचिव लक्ष्मण ज्ञवाली, प्रेसिडेन्ट काउन्सिल चेयर कृष्ण प्रसाद अर्याल, आरसि चितवनका अध्यक्ष गेहेन्द्र श्रेष्ठ, आरसी पाल्पाका संस्थापक अध्यक्ष गोपाल पोखरेल, अध्यक्ष पाण्डेयका सुपुत्र करुण पाण्डेय र क्लबका सचिव दिवाकर घिमिरेले रोटरी अभियान र यसबाट भएका विविध कार्यक्रमहरुको बरेमा चर्चा गर्नुभएको थियो ।