सोमवार , श्रावण ४, २०८३
काठमाडौँ, ४ साउन । यस वर्षको साउनको पहिलो सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।
साउने सोमबारका अवसरमा पशुपतिनाथको सहज रुपमा दर्शन गर्न बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको थियो । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेष गरी महिला भक्तजनको भीड देखिन्छ ।
रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले पशुपति क्षेत्र भरिभराउ छ । विवाहित महिलाले श्रीमान्को दीर्घ जीवनको कामना र अविवाहित महिलाले योग्य बरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ ।
घर घरमा महिलाले परिवारका सबै सदस्यको सुख, शान्ति एवं पारिवारिक समृद्धिका लागि व्रत बसी पूजाआजा गर्छन् । पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत राजधानीका ठूलासाना सबै शिव मन्दिरमा पनि भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij