बुधवार , श्रावण ६, २०८३
भैरहवा, ६ साउन । आफ्नो छोराको जन्मदिनको अवसरमा बुवाले रक्तदान गरेका छन् । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–५ घर भइ हाल सिद्धार्थनगर नगरपालिका–६ मा बस्दै आउनुभएका केशव कुमार उपाध्यायले मंगलबार रक्तदान गर्नुभएको हो । छोरा सार्थक उपाध्यायको ७ औं जन्मदिनको अवसरमा रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सदस्यसमेत रहनुभएका उपाध्यायले बताउनुभयो ।
भैरहवास्थित युनिभर्सल मेडिकल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) स्थित रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) मा पुगेर रक्तदान गरेको उहाँले जानकारी दिनुभयो ।
‘सार्थकको जन्म २०७६ साल साउन ६ गते भएको हो । उसले आज सफलतापूर्वक ७ वर्ष पूरा गरेको यस विशेष दिनलाई केवल उत्सवमा सीमित नराखी मानव सेवाको भावनासँग जोड्ने उद्देश्यले मैले रक्तदान गरेको हुँ, ’उहाँले भन्नुभयो ।
उहाँले थप्नुभयो–‘रक्तदान जीवनदान हो । हाम्रो सानो प्रयासले कसैको अमूल्य जीवन बच्न सक्छ । यस शुभ अवसरमा सबै स्वस्थ व्यक्तिहरूलाई नियमित रूपमा रक्तदान गर्न हार्दिक अनुरोध गर्दछु ।’
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij