२०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

नेपाल सिएमए संघको प्रदेशस्तरीय भेला सम्पन्न

सोमवार , श्रावण ११, २०८३

  • 310
    Shares
  • 310
    Shares
  • नवलपरासी, ११ साउन । नेपाल सिएमए संघ केन्द्रीय कार्यसमितिको आयोजनामा गण्डकी, लुम्बिनी र बाग्मती प्रदेशका जिल्ला अध्यक्ष, जिल्ला प्रतिनिधि तथा समन्वय समिति सदस्यहरूको संयुक्त प्रदेशस्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा सिएमए/अहेव पारामेडिक्स स्वास्थ्यकर्मीहरूको पेशागत हकहित तथा अधिकारको सुनिश्चितता, संगठन सुदृढीकरण तथा वर्तमान नीतिगत अन्योलका विषयमा छलफल भएको थियो । सहभागीहरूले संघलाई अझ सशक्त र क्रियाशील बनाउँदै पेशागत अधिकार सुनिश्चित गर्न आवश्यक परे कानस्नी, नीतिगत तथा आन्दोलनका सबै स्वरूपमा एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    अन्तरक्रियाका क्रममा सहभागीहरूले पारामेडिक्स स्वास्थ्यकर्मीहरूको पेशागत अधिकारलाई राज्यको नीति, निर्देशिका तथा ऐनमै स्पष्ट रूपमा सुनिश्चित गरी लामो समयदेखि कायम अन्योलताको अन्त्य गर्नुपर्ने माग राखेका थिए ।

    सहभागीहरूको जिज्ञासाको जवाफ दिँदै नेपाल सिएमए संघका केन्द्रीय उपमहासचिव  ईश्वर चापागाईं (नवीन) ले संघले संघीय सरकारका सम्बन्धित निकायहरूसँग निरन्तर सकारात्मक पहल र समन्वय गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार संघीय ऐन तथा निर्देशिकासँग बाझिने गरी केही प्रदेश तथा स्थानीय पालिका तहहरूले स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी ऐन, नियम तथा कार्यविधि लागू गर्दा पारामेडिक्स स्वास्थ्यकर्मीहरू अनावश्यक अन्योल र अप्ठ्यारोमा परेका छन् ।

    संघीय सरकारसँग पटकपटक भएका छलफल, सहमति तथा सम्झौताहरुलाई शीघ्र कार्यान्वयन गराई यस्ता नीतिगत समस्या तथा अन्योलताको दीर्घकालीन समाधान निकाल्न नेपाल सिएमए संघ निरन्तर र सक्रिय रुपमा लागिरहेको उहाँले स्पष्ट पार्नुभयो । साथै, पारामेडिक्स स्वास्थ्यकर्मीहरूको पेशागत अधिकार कुनै पनि हालतमा कुण्ठित हुन नदिने र राज्यसँग भएका सहमति र सम्झौताहरुलाइ कार्यनयन गर्न राज्यले आलटाल वा वेवास्ता गरेमा आवश्यक परे थप सशक्त आन्दोलनका कार्यक्रमहरु गर्नुपर्ने अवस्था पनि आउन सक्ने भएकाले आन्दोलनमा सक्रिय साथ र सहयोगको आव्हान पनि गर्नुभयो ।

    कार्यक्रम नेपाल सिएमए संघका केन्द्रीय अध्यक्ष रामेश्वर प्रसादको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रीय उपाध्यक्षहरू कपिल खलान, गोपाल उपाध्याय र राजु अर्यालको विशेष उपस्थिति रहेको थियो । उपाध्यक्षहरूले संघका भावी नीति, योजना तथा कार्यक्रमबारे जानकारी गराउँदै संगठन विस्तार, पेशागत अधिकारको सुनिश्चितता र आगामी रणनीतिबारे धारणा राख्नुभएको थियो ।
    कार्यक्रमको स्वागत मन्तव्य केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायले व्यक्त गर्नुभएको थियो भने सहजीकरण केन्द्रीय उपमहासचिव ईश्वर (नवीन) चापागाईं )ले गर्नुभएको थियो ।

    भेलाले संगठनलाई देशभर थप सुदृढ बनाउँदै पारामेडिक्स स्वास्थ्यकर्मीहरूको पेशागत हकहित र अधिकारको संरक्षण तथा नीतिगत अन्योलताको स्थायी समाधानका लागि संघ अझ प्रभावकारी रूपमा अघि बढ्ने निष्कर्ष समेत निकालेको जनाएको छ ।