२०८३, श्रावण ११ गते

Jul 27 2026 | २०८३, श्रावण ११ गते

नागढुंगा सुरुङमार्ग पहिलो हो तर अन्तिम भने होइन : सचिव सिग्देल

सोमवार , श्रावण ११, २०८३

  • 199
    Shares
  • 199
    Shares
  • पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नागढुंगा सुरुङमार्ग सञ्चालनसँगै नेपालमा आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय शुरु भएको बताउनुभएको छ । 

    नागढुंगा सुरुङमार्ग उद्घाटन कार्यक्रममा उहाँले कठिन भौगोलिक अवस्थाका बाबजुद पनि नेपालमा सुरुङमार्ग सञ्चालनमा ल्याएको बताउनुभएको हो । उहाँले राजनीतिक इच्छाशक्ति, प्राविधिक सहकार्य र धैर्यता भएमा नेपालले महत्वाकांक्षी पूर्वाधार परियोजनाहरू सफलतापूर्वक निर्माण गर्नसक्ने बताउनु भयो ।

    उहाँले नेपालमा सुरुङ पूर्वाधार विकासको शुरुवात मात्र भएको भन्दै आगामी दिनमा यस्ता परियोजनाहरू थप विस्तार हुने बताउनु भयो । सचिव सिग्देलले सुरुङ निर्माणमार्फत नेपाली प्राविधिक जनशक्तिले हिमाली सुरुङ निर्माणसम्बन्धी अनुभव हासिल गरेको र यसले भविष्यमा देशभर सञ्चालन हुने अन्य सुरुङ तथा पूर्वाधार परियोजनामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले सुरुङ निर्माणका क्रममा नेपाली र जापानी इन्जिनियरहरूले भूगर्भीय जटिलता, कोभिड–१९ महामारी तथा हिमाली भू–संरचनासम्बन्धी चुनौतीका बीच संयुक्त रूपमा काम गरेर परियोजना सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘कठिन भौगोलिक अवस्था हुँदाहुँदै पनि राजनीतिक इच्छाशक्ति, प्राविधिक सहकार्य र धैर्यता भए नेपालले महत्वाकांक्षी पूर्वाधार परियोजनाहरू सफलतापूर्वक निर्माण गर्न सक्छ । यो पहिलो सुरुङ हो, तर अन्तिम भने होइन ।’

    नागढुंगा सुरुङमार्ग सञ्चालनले सिस्नेखोला–बलम्बुबीचको अब केही मिनेटमा पूरा हुने उल्लेख गर्नुभयो । यात्रुहरूले वर्षौंदेखि भोग्दै आएको जाम, तीव्र घुम्ती र पहिरोको जोखिमबाट अब राहत मिल्ने उहाँको भनाई छ ।

    सचिव सिग्देलले नागढुंगा पास लामो समयदेखि काठमाडौं उपत्यकाको पश्चिमी प्रवेशद्वारका रूपमा परिचित भएपनि राष्ट्रिय सडक सञ्जालको सबैभन्दा बढी जाम हुने र जोखिमपूर्ण खण्डमध्ये एक रहेको उल्लेख गर्नुभयो । सचिव सिग्देलले परियोजना निर्माणमा जापान सरकारको सहयोगको लागि धन्यवाद दिनुभयो ।

    उहाँले मन्त्रालय सुरुङको सुरक्षित सञ्चालन, नियमित मर्मतसम्भार र पारदर्शी व्यवस्थापनमा प्रतिवद्ध रहेको उल्लेख गर्दै यसबाट प्राप्त लाभ दीर्घकालसम्म नेपाली जनताले पाउने विश्वास व्यक्त गर्नुभयो ।