सोमवार , श्रावण ११, २०८३
बुटवल, ११ साउन । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–२, नुवाकोटस्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्व बोकेको भैरव कामना मन्दिर परिसरमा वृहत् वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा मौसमी तथा बाह्रैमासे फूल, फलफूल, औषधीय र धार्मिक महत्वका रुद्राक्ष, चन्दन, श्रीखण्ड, पलाँस, अमला, तेजपात, मोरिङ्गा, अर्जुन, आँप, जामुन, बेल, निम, पारिजातलगायतका ३५५ वटा बिरुवा रोपिएको क्लबले जनाएको छ । कार्यक्रमअन्तर्गत मन्दिर परिसरको सरसफाई गर्नुका साथै एक थान डस्टबिन पनि हस्तान्तरण गरिएको थियो ।
क्लबका अध्यक्ष वासुदेव भुसालले नुवाकोट विकास समिति र भैरव कामना मन्दिर व्यवस्थापन समितिलाई समन्वय र सहकार्यका लागि धन्यवाद दिँदै मन्दिरको गुरुयोजनाअन्तर्गत रहेको अग्निकुण्ड निर्माण चालु वर्षमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मन्दिर क्षेत्रको संरक्षण, सौन्दर्यीकरण र विकासका लागि क्लबले आगामी दिनमा पनि आफ्नो क्षमता र स्रोत–साधनअनुसार सहकार्यलाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा नुवाकोट विकास समिति, भैरव कामना मन्दिर व्यवस्थापन समिति, पथिक फाउण्डेशन रुपन्देही, रोटरी क्लबका सदस्य तथा अन्य स्वयंसेवकसहित करिब ४५ जनाको सहभागीता थियो ।
कार्यक्रममा नुवाकोट विकास समितिका अध्यक्ष ई. पी. एल. श्रेष्ठ र भैरव कामना मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर श्रेष्ठले उपस्थित सबैलाई स्वागत गर्दै वातावरण संरक्षण र धार्मिक सम्पदाको संवद्र्धनमा यस्तो अभियानले महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
क्लबका सचिव माधव पौडेलले यस्ता कार्यक्रमलाई क्लवले आगामी दिनमा पनि निरन्तर जारी राख्ने बताए । डस्टबीन उपलब्ध गराउने विष्णु प्रसाद भट्टराई, कार्यक्रम संयोजकद्वय मदन घिमिरे र शरद अधिकारी तथा सहभागीका लागि भोजन प्रायोजन गर्ने योगेश भण्डारीप्रति क्लबले आभार व्यक्त गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij