मंगलवार , श्रावण १२, २०८३
काठमाडौं, १२ साउन । वरिष्ठ कलाकार हरिवंश आचार्यले मानव बेचबिखनको स्वरूप परिवर्तन हुँदै गएको भन्दै यसका विरुद्ध व्यापक जनचेतना जगाउनुपर्नेमा जोड दिनुभएको छ ।
मङ्गलवार विश्व मानव बेचबिखन विरुद्धको दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मानव बेचबिखनको स्वरूप बदलिएको भन्दै यसका विरुद्ध व्यापक जनचेतना र राजनीतिक सुशासनको आवश्यक रहेको बताउनुभएको हो । आचार्यले विगत लामो समयदेखि आफूहरू कलाका माध्यमबाट मानव बेचबिखन विरुद्धको अभियानमा सक्रिय रहेको स्मरण गराउनु भयो ।
उहाँले ‘रातु’, ‘छोरी’ र ‘टीकेको तीन मन्तर’ जस्ता टेलिचलचित्र तथा विभिन्न गीतमार्फत सचेतना फैलाउँदै आएको जानकारी दिँदै हालको परिस्थिति झन् चुनौतीपूर्ण बनेको बताउनु भयो ।
उहाँले प्रविधिको विकाससँगै मोबाइल फोन र सामाजिक सञ्जालको दुरुपयोगले मानव तस्करहरूलाई थप सहज बनाएको र सर्वसाधारणलाई प्रलोभनमा पार्न सजिलो भएको उल्लेख गर्नुभयो । मुलुकको राजनीतिक अस्थिरता र बेरोजगारीका कारण युवाहरूमा विदेशिने मोह बढ्नु र त्यसैको फाइदा उठाउँदै तस्करहरूले सपना बाँड्नु दुःखद् भएको उहाँको ठम्याइ छ ।
कलाकार आचार्यले नक्कली भूटानी शरणार्थी प्रकरण जस्ता घटनालाई लक्षित गर्दै राजनीतिक नेतृत्वकै संलग्नतामा मान्छे बेचिनु अनैतिकताको पराकाष्ठा भएको टिप्पणी गर्नुभयो । उहाँले नयाँ राजनीतिक संस्कार र सोचका साथ अघि बढे मात्र यस्ता समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
आचार्यले भन्नुभयो, ‘हामीले पहिलेदेखि नै ‘रात’, ‘छोरी’, ’टीकेको तीन मन्तर’ लगायतका कार्यक्रममार्फत मानव बेचबिखनविरुद्ध सचेतना जगाउने काम गर्दै आएका छौँ । तर अहिले यो समस्या चेलीबेटी बेचबिखनमा मात्र सीमित छैन, युवा, बालबालिका र विभिन्न प्रलोभनमा पारेर मानव बेचबिखन गर्ने घटना बढ्दै गएका छन् ।
त्यसैले अब सचेतना अभियानलाई अझ वृहत रूपमा अगाडि बढाउन आवश्यक छ । मोबाइल र सामाजिक सञ्जालले राम्रो कामसँगै विकृति पनि बढाएका छन् ।
विदेशको लोभमा परेर धेरै नेपालीले दुःख पाइरहेका छन् । राजनीतिक अस्थिरताले देशमा रोजगारी बढ्न नसक्दा युवाहरू विदेशिन बाध्य भएका छन् । नयाँ सोच, नयाँ राजनीतिक संस्कार र सबैको सचेत प्रयासबाट मात्र मानव बेचबिखनजस्ता अपराध न्युनिकरण गर्न सकिन्छ ।’
आफ्नो सामाजिक उत्तरदायित्वबाट कहिल्यै पछि नहट्ने प्रतिवद्धता जनाउँदै आचार्यले अडियो–भिजुअल माध्यमबाट आगामी दिनमा पनि सचेतनाका कार्यक्रमहरूलाई निरन्तरता दिने बताउनु भयो । केही नकारात्मक तत्वहरूले कलाकारका सामाजिक कार्यलाई लिएर अनर्गल प्रचार गर्ने गरेको प्रति दुःख व्यक्त गर्दै उहाँले साइबर अपराध नियन्त्रणमा नेपाल प्रहरीले थप प्रभावकारी कदम चाल्नुपर्ने सुझाव दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij