२०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

रेडक्रस रुपन्देहीद्वारा उत्कृष्ट रक्तदाता पुरस्कृत तथा सम्मानित

बुधवार , श्रावण १३, २०८३

  • 181
    Shares
  • 181
    Shares
  • बुटवल, १३ साउन । ‘रक्तदान : जीवनदान’ भन्ने मूल नाराका साथ ६ दशकअघि स्थापना भएको नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाले उत्कृष्ट रक्तदाताहरूलाई पुरस्कृत तथा सम्मान गरेको छ । नेपाल रेडक्रस सोसाइटीको ६१ औं रक्त सञ्चार सेवा दिवसको अवसरमा मंगलबार रूपन्देहीको तिलोत्तमामा एक कार्यक्रमकाबीच उत्कृष्ट रक्तदाताहरूलाई पुरस्कृत तथा सम्मानित गरिएको हो ।

    सो अवसरमा ४ हजार १ सय ७९ युनिट रक्तदान गरेर कृष्ण चौहान नेतृत्वको नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देही प्रथम भएको छ भने १ हजार ७ सय २४ युनिट रक्तदान गर्ने आशिष सिलवाल नेतृत्वको नेपाल नियमित रक्तदाता संघ रूपन्देही द्वितीय र नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखा तृतीय भएको छ । उनीहरुले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् । 

    त्यस्तै आर्थिक वर्ष २०८२/८३ मा १ सय देखिमाथि रक्तदान गरेका संघ–संस्थालाई सम्मान गरेको रेडक्रस रुपन्देही जिल्ला शाखाका सभापति रामचन्द्र उपाध्यायले बताउनुभयो ।

    उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, चन्द्रकोट गाउँपालिका गुल्मीका अध्यक्ष युवराज केसीलगायतले पुरस्कार तथा प्रमाणपत्रले सम्मान गर्नुभएको हो । त्यसै गरी आफ्नो जन्मदिन पारेर रक्तदान कार्यक्रमको आयोजना गर्ने व्यक्तिका साथै पुण्यतिथिको दिन पारेर रक्तदान कार्यक्रम गरेका र रक्त सञ्चार केन्द्र (ब्लड बैंक) लाईसहयोग गरेका समेत गरी ७१ जनालाई सम्मान गरिएको उहाँले जानकारी दिनुभयो ।

    कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले रेडक्रस सोसाइटी जस्तो मानवीय सेवा गर्ने संस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । रक्तदानको महत्वलाई जनस्तरसम्म पुर्याउन स्थानीय तहसँग समन्वय र सहकार्य गरेर अघि बढ्न आग्रह गर्दै नगरप्रमुख खाणले रक्तदान जस्तो उत्कृष्ट समाजसेवा अरु कुनै नभएको बताउनुभयो ।

    नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रूपन्देहीका सभापति रामचन्द्र उपाध्यायको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठ, लुम्बिनी प्रदेश अध्यक्ष लाल प्रसाद पंगेनी (कृष्ण), बुटवल उपशाखा अध्यक्ष बेनबहादुर पौडेल क्षेत्री, रेडक्रस सोसाइटी सैनामैना उपशाखा अध्यक्ष मिना भण्डारी, स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्री, नेपाल नियमित रक्तदाता समाजका अध्यक्ष आशिष सिलवाल लगायतले रक्तदान गर्ने कार्यलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।

    WhatsApp Image 2026-07-29 at 2.29.01 PM.jpeg

    रेडक्रस रुपन्देहीको उपसभापति रुपमा हिराचनको सिद्वान्त पाठ, रक्त सञ्चार सेवा समिति रुपन्देहीका संयोजक डा. बेन बहादुर पौडेलको स्वागत तथा कार्यबाहक महामन्त्री दिनेश पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।