बिहिवार , श्रावण १४, २०८३
भैरहवा, १४ साउन । सिद्धार्थ सञ्जाल, रुपन्देहीले सुनसरी घटनाको निष्पक्ष, पारदर्शी र प्रभावकारी अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ । सञ्जालले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै घटनामा दोषी जासुकै भए पनि कानूनबमोजिम कारवाही गर्न सरकारसँग माग गरेको हो ।
सुनसरी जिल्लामा भएको हिंसात्मक घटनाबाट मानवीय क्षति भएको तथा सामाजिक सद्भावमा गम्भीर असर परेको भन्दै सञ्जालले दुःख व्यक्त गरेको छ । यस कठिन परिस्थितिमा कुनै पनि अपुष्ट सूचना, अफवाह वा भड्काउ अभिव्यक्ति सामाजिक सञ्जाल वा अन्य माध्यमबाट प्रचारप्रसार नगर्न सञ्जालका अध्यक्ष अनिल कुमार ज्ञवालीले आग्रह गर्नुभएको छ । उहाँले शान्ति–सुरक्षा कायम राख्दै सबै समुदायबीच आपसी विश्वास र सद्भाव पुनःस्थापित गर्न आवश्यक पहल गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो।
‘नेपाल विविध धर्म, जाति, भाषा र संस्कृतिको साझा फूलबारी हो । हाम्रो संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र आस्थाको सम्मानपूर्वक अभ्यास गर्ने अधिकार सुनिश्चित गरेको छ । त्यसैले कुनै पनि विवाद वा मतभेदलाई हिंसा, आगजनी, तोडफोड, घृणा वा साम्प्रदायिक द्वन्द्व फैलाउने माध्यमबाट होइन, संवाद, संयमता र कानूनी प्रक्रियाबाट समाधान गर्नु सभ्य समाजको पहिचान हो, ’अध्यक्ष ज्ञवालीले भन्नुभयो ।
सिद्धार्थ सञ्जाल रुपन्देही सधैं राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, शान्ति र कानूनी शासनको पक्षमा दृढतापूर्वक उभिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । सञ्जालले सम्पूर्ण नेपालीलाई संयम, धैर्य र आपसी सम्मान राखी सामाजिक सद्भाव सुदृढ बनाउन सहयोग गर्न अपील गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij