सोमवार , श्रावण १८, २०८३
भैरहवा, १८ साउन । रुपन्देहीमा एक वर्षको अवधिमा १ हजार ७९ वटा सवारी दुर्घटना भएको छ । आर्थिक वर्ष २०८२/०८३ मा १ हजार ७९ वटा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ । कार्यालय प्रमुख (प्रहरी निरीक्षक) प्रतिमा कार्कीका अनुसार यो अवधिमा सवारी दुर्घटनामा परी १०७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २२४ जना गम्भिर र १ हजार ४ सय ७६ जना सामान्य घाइते भएका छन् ।

कार्यालयको तथ्यांक अनुसार जिल्लामा सवारी दुर्घटना बढेको देखिन्छ । आ.व. २०८१/०८२ मा ५९८ वटा दुर्घटना भएको थियो । दुर्घटनामा ८५ जनाले ज्यान गुमाएका थिए भने २८१ जना गम्भिर र ६६६ जना सामान्य घाइते भएका थिए ।
त्यस्तै आ.व. २०८०/०८१ मा १५७ वटा सवारी दुर्घटना हुँदा ७६ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १०६ जना गम्भिर र १ सय जना सामान्य घाइते भएका थिए ।
प्रहरी निरीक्षक कार्कीका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा ३० हजार ६ सय २३ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । बाँकी ६ हजार २ सय ८० सवारीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर यातायात कार्यालय पठाएर जरिवानासहित कारवाहीको दायरामा ल्याएको हो ।
ट्राफिक प्रहरी कार्यालयमार्फत गरिएको कारवाहीमा ४ करोड ७२ लाख २३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै यातायात कार्यालयमा गरिएको सिफारिस अनुसार यातायातले गरेको कारवाहीबाट ६ करोड २८ लाख रुपैयाँ राजस्व संकलन भएको छ । जसअनुसार कुल राजस्व ११ करोड २३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रहरी निरीक्षक कार्कीले मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने चालकहरुको सवारीसाधन नियन्त्रणमा लिइ उनीहरुलाई प्रशिक्षण प्रदान गरी कारवाही गर्ने गरिएको जानकारी दिनुभयो । त्यस्तै जिल्लाको विभिन्न स्थानमा ड्रग किटको प्रयोग गरी १७ जना लागूऔषध सेवनकर्ता सवारीचालकहरुलाई कारवाहीको दायरामा ल्याइएको उहाँले बताउनुभयो ।
‘विभिन्न संघ–संस्था तथा स्थानीय तहहरुको सहकार्यमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ सचेतना र्याली तथा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी कार्यक्रम गरिएको छ, ’उहाँले भन्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij