२०८३, श्रावण १८ गते

Aug 03 2026 | २०८३, श्रावण १८ गते

तिलोत्तमाका डेरीमा अनुगमन : शंकास्पद दूध ल्याब परीक्षणका लागि पठाइयो

सोमवार , श्रावण १८, २०८३

  • 301
    Shares
  • 301
    Shares
  • तिलोत्तमा, १८ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिँदै पुनः स्थानीय दूध डेरी तथा कृषि उपज भण्डार एवं विक्री केन्द्रहरूको अनुगमन गरेको छ । अनुगमनका क्रममा शंकास्पद देखिएको दूधको नमुना संकलन गरी गुणस्तर परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ ।

    नगर उपप्रमुख जगेश्वर देवी चौधरीको नेतृत्वमा गरिएको अनुगमनमा आर्थिक विकास शाखाका प्रशासकीय अधिकृत मुक्तिराम खनाल, वरिष्ठ प्रशासन सहायक मीना अर्याल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि प्रकाश भण्डारी, इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी नायब निरीक्षक सनन्दन प्रसाद यादव, तिलोत्तमा उद्योग वाणिज्य संघ, तिलोत्तमा उद्योग व्यापार संगठन, चेम्बर अफ कमर्स तिलोत्तमाका प्रतिनिधि, नगर प्रहरी तथा नगरपालिकाका कर्मचारीहरू लगायतको सहभागीता थियो ।
    नगर उपप्रमुख चौधरीले नियमित बजार अनुगमनले उपभोक्ताको विश्वास बढाउनुका साथै व्यवसायीलाई समेत गुणस्तर, सरसफाइ, कानुनी प्रक्रिया तथा जिम्मेवार व्यवसाय सञ्चालनप्रति थप सचेत र उत्प्रेरित बनाएको बताउनुभयो ।

    नगरपालिकाको आर्थिक विकास शाखाका प्रशासकीय अधिकृत मुक्तिराम खनालले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिँदै उपभोक्ता हित संरक्षण तथा स्वस्थ र व्यवस्थित बजार वातावरण निर्माणमा जोड दिने बताउनुभयो ।

    ३ वटा कृषि उपज भण्डार तथा पसल र ९ वटा दूध डेरी गरी १२ वटा व्यवसायिक प्रतिष्ठानको अनुगमन गरिएको नगरपालिकाले जनाएको छ । दूध तथा कृषि उपजको गुणस्तर, सरसफाई, भण्डारण अवस्था, मूल्यसूची, व्यवसाय दर्ता तथा नवीकरण लगायतका विषयमा निरीक्षण गरिएको थियो ।

    अनुगमनका क्रममा केही स्थानीय व्यवसायीले व्यवसाय दर्ता तथा नवीकरण समयमै नगरेको पाइएको टोलीले जनाएको छ । त्यस्ता व्यवसायीलाई प्रचलित कानून तथा नगरपालिकाको मापदण्ड अनुसार व्यवसाय दर्ता र नवीकरण प्रक्रियामा सहभागी हुन आग्रह गरिएको  छ।

    नगरपालिकाले उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउने उद्देश्यले बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ । शंकास्पद दूधको नमुना प्रयोगशालामा परीक्षणका लागि पठाइएको र परीक्षण प्रतिवेदन प्राप्त भएपछि आवश्यक प्रक्रिया अघि बढाइने बताइएको छ ।