२०८३, श्रावण २१ गते

Aug 06 2026 | २०८३, श्रावण २१ गते

बुटवल अटोद्वारा नेपाली सेनाका प्राविधिकलाई हेभी इक्विपमेन्ट मेकानिक्स तालिम

बिहिवार , श्रावण २१, २०८३

  • 340
    Shares
  • 340
    Shares
  • बुटवल, २१ साउन । प्राविधिक जनशक्ति उत्पादन गर्न नेपाली सेनाका प्राविधिकलाई बुटवल अटो इन्जिनियरिङ एशोसिएसन, रुपन्देहीले सञ्चालन गरेको ३० दिने हेभी इन्जिनियरिङ इक्विपमेन्ट मेकानिक्स एड्भान्स तालिम सम्पन्न भएको छ।

    नेपाल सरकार रक्षा मन्त्रालय अन्तर्गत नेपाली सेना विद्युत तथा यान्त्रिक शिक्षालय, खैरापटी भरतपुर ब्यारेक र बुटवल अटो इन्जिनियरिङ एशोसिएशनको संयुक्त आयोजनामा असार १८ गतेदेखि सञ्चालन भएको तालिम साउन २० गते सम्पन्न भएको हो । समापनका अवसरमा बुटवल–२, मैनाबगरस्थित विश्वकर्मा बाबा प्रशिक्षण हलमा प्रशिक्षार्थीलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

    कार्यक्रमकी प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाको उपप्रमुख सावित्रा देवी अर्यालले सीपमूलक तथा प्राविधिक शिक्षा नै युवालाई रोजगारी र आत्मनिर्भरतर्फ लैजाने बलियो आधार भएको बताउनुभयो । स्थानीय सरकार यस्ता व्यावसायिक तालिमलाई आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

    एशोसिएशनका अध्यक्ष प्रेम गौचनले संस्थाले अटोमोबाइल क्षेत्रका दक्ष प्राविधिक उत्पादनसँगै नेपाली सेनाका प्राविधिकलाई तालिम प्रदान गर्ने र संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (शान्ति सेना) मा जाने जनशक्तिलाई आवश्यक सीप विकास गराउने कार्य गर्दै आएको बताउनुभयो । उहाँले एसोसिएसन र नेपाली सेनाबीचको सहकार्यले दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभयो ।

    उद्योग उपाध्यक्ष ध्रुवराज भुसालले एशोसिएशनले विगत ९ वर्षदेखि निरन्तर रूपमा यस्ता प्राविधिक तालिम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँले सीप र दक्षतामार्फत युवालाई स्वदेश तथा विदेशमा रोजगारीका अवसर सिर्जना गर्न संस्थाले निरन्तर काम गरिरहेको बताउनुभयो ।

    कार्यक्रममा अन्तर प्रदेश यातायात कार्यालयका प्रमुख सुजन जोजिजु, प्राविधिक सेनानी सुदीपकुमार द्विवेदी, प्राविधिक हवलदार तथा प्रशिक्षार्थीका प्रतिनिधि मिन नारायण श्रेष्ठ, तालिमका प्रशिक्षक टेकराज कुमाल तथा एसोसिएसनका संरक्षक सल्लाहकार केवलप्रसाद यादवले तालिमले हेभी इक्विपमेन्ट मर्मतसम्भार क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्न सक्ने क्षमता विकास गरेको बताउनुभयो ।

    तालिममा सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै सम्मान गरिएको कार्यक्रमको सञ्चालन मनिष पाण्डेले गर्नुभएको थियो ।

    एशोसिएसनका अनुसार नेपाली सेनासँगको समन्वयमा सञ्चालन हुँदै आएको यो तालिमले हेभी इन्जिनियरिङ इक्विपमेन्ट मर्मतसम्भार क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नुका साथै शान्ति मिसनमा सहभागी हुने प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिमा समेत योगदान पुर्याउँदै आएको छ ।