बिहिवार , श्रावण २१, २०८३
भैरहवा, २१ साउन । हिरोसिमा दिवसको अवसरमा लुम्बिनी वल्र्ड पिस फोरमले बिहीबार वृक्षारोपण कार्यक्रम गरेको छ । संस्थाले भैरहवा र लुम्बिनीमा कार्यक्रम गरेको हो।
सिद्धार्थनगर नगरपालिका ७ नम्बर वडा कार्यालयको संरक्षण एवं समन्वय तथा लुम्बिनी–कपिलवस्तु विश्व अभियान (यूरोप) र लुम्बिनी–कपिलवस्तु विश्व अभियान (अस्ट्रेलिया)को सहयोगमा कार्यक्रम गरिएको हो ।
बेलहिया–बुटवल सडकखण्ड अन्तर्गत नयाँसडक (सुवर्णपथ) देखि देवकोटाचोकसम्म बेगमबेली र असारे फूल गरी दुईसय वटा विरुवा रोपिएको लुम्बिनी वल्र्ड पिस फोरमका संस्थापक तथा अध्यक्ष बासु गौतमले बताउनुभयो । त्यस्तै बुद्ध जन्मस्थल लुम्बिनीस्थित विश्व शान्ति स्तुपा परिसरमा ८ वटा कपुरको विरुवा रोपिएको गौतमले जानकारी दिनुभयो । प्रत्येक वर्ष ६ अगस्टमा विभिन्न कार्यक्रम गर्दै हिरोसिमा दिवस मनाउँदै आएको उहाँले बताउनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले विरुवा रोप्नु पुण्यको काम भएको बताउनुभयो । उहाँले लुम्बिनी वल्र्ड पिस फोरमले अत्यन्तै महत्वपूर्ण कार्यक्रम कार्यक्रम आयोजना गरेको बताउनुभयो । नगरप्रमुख खाँले वृक्षारोपण गरेर नगरलाई हरियाली बनाउन सहयोग गर्न नगरबासीलाई आग्रह समेत गर्नुभयो ।
त्यस्तै सिद्धार्थनगर नगरपालिका–७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरेले २०७९ सालमा पनि लुम्बिनी वल्र्ड पिस फोरमको आयोजनामा राजमार्ग क्षेत्रमा वृक्षारोपण कार्यक्रम भएको स्मरण गर्नुभयो । उहाँले रोपिएका विरुवाहरु हुर्किएको र अहिले रोपिएका विरुवाको पनि संरक्षण गरिने बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
लुम्बिनी होटल संघ, नेपालका अध्यक्ष लिलामणि शर्माले जापानको हिरोसिमामा भएको घटना नहोस् भन्ने सन्देश दिन लुम्बिनी वल्र्ड पिस फोरमले कार्यक्रम आयोजना गर्नु सराहनीय रहेको बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij