शुक्रवार , श्रावण २२, २०८३
दाङ, २२ साउन । लुम्बिनी प्रदेश सरकारले प्रदेशका सम्पूर्ण सरकारी सेवा तथा सूचनालाई एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले एकीकृत प्रदेश पोर्टल कार्यान्वयनमा ल्याउने भएको छ । यसबाट नागरिकले मन्त्रालय वा निकायअनुसार छुट्टाछुट्टै वेबसाइट खोज्नुपर्ने झन्झट हट्ने र एकै स्थानबाट आवश्यक सेवा तथा सूचना प्राप्त गर्न सक्नेछन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको सूचना तथा सञ्चार प्रविधि परिषदको बैठकमा प्रदेश सरकारका सूचना तथा सेवा प्रणालीलाई प्रविधिमैत्री, सुरक्षित, पारदर्शी र नागरिकमैत्री बनाउने विषयमा विस्तृत छलफल तथा प्रस्तुतीकरण गरिएको हो ।
बैठकमा चालु आर्थिक वर्षमा सूचना प्रविधिको पूर्वाधार विकास तथा स्तरोन्नतिका लागि विभिन्न महत्वपूर्ण कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ । प्रदेश सरकारले एकद्वार प्रदेश पोर्टल सञ्चालनमा ल्याउने भएको हो । उक्त पोर्टलमार्फत प्रदेश सरकारका सबै मन्त्रालय तथा निकायका सेवा, सूचना र डिजिटल सेवामा एकै स्थानबाट पहुँच स्थापित हुनेछ ।
त्यसै गरी एकीकृत सूचना पोर्टल रिडिजाइन तथा अपग्रेड गरिने, भ्वाइस र किवर्डमार्फत सूचना खोज्न सकिने सुविधा विकास गरिनेछ भने गुनासो व्यवस्थापन प्रणालीलाई समेत थप प्रभावकारी बनाइने जनाइएको छ । यसबाट प्रदेश सरकारका सबै सूचना एआई प्रविधिमार्फत भ्वाइस र किवर्डमार्फत खरीद र सेवा सम्वन्धि कार्य एकै स्थानबाट प्राप्त गर्न सकिने जनाइएको छ ।
प्रदेश सरकारका वेबसाइटहरूको फ्रेमवर्क स्तरोन्नति गरिने, यसक्रममा वेबसाइटलाई अपांगतामैत्री बनाइने, प्रणालीमा रहेका प्राविधिक कमजोरी हटाइने तथा साइबर अपराध र अनधिकृत पहुँचबाट सरकारी सूचना प्रणालीलाई सुरक्षित बनाइने योजना रहेको छ ।
बैठकमा सूचना तथा सञ्चार प्रविधि परिषद्का कार्यकारी निर्देशक अनुप बाँसकोटाले गत आर्थिक वर्षका उपलब्धिहरू प्रस्तुत गर्दै प्रदेशका विभिन्न निकायका सेवा अटोमेसनका लागि आवश्यकता संकलन गरिएको, अडियो–भिजुअल किट तयार गरिएको, सातवटा संस्थाको वेबसाइट माइग्रेसन सम्पन्न गरिएको तथा ४५ भन्दा बढी सार्वजनिक निकायलाई सूचना प्रविधिसम्बन्धी सेवा उपलब्ध गराइएको जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij