२०८३, श्रावण २२ गते

Aug 07 2026 | २०८३, श्रावण २२ गते

वर्तमान सरकारमा शासकीय अराजकता हाबी भयो : गगन थापा

शुक्रवार , श्रावण २२, २०८३

  • 274
    Shares
  • 274
    Shares
  • काठमाडौं, २२ साउन । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार ‘शासकीय अराजकता’ तर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ । 

    नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता थापाले सरकारको कार्यशैली र जिम्मेवार पदाधिकारीहरूको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको हो । लोकतान्त्रिक पद्धतिमा विधिको शासन सर्वोपरि हुने उल्लेख गर्दै थापाले कानुनभन्दा माथि कोही पनि हुन नसक्ने बताउनु भयो ।

    सभापति थापाले मन्त्री र सांसदहरूबाटै उत्तेजक र धम्कीपूर्ण अभिव्यक्तिहरू सार्वजनिक हुनुले विधिको शासनलाई चुनौती दिएको तर्क गर्नुभयो ।

    विभिन्न माग राखेर आन्दोलनरत पक्षहरूसँग सरकारले गर्ने सम्झौता कार्यान्वयन नभएको प्रति पनि उहाँले चिन्ता व्यक्त गर्नुभयो । लघुवित्त र सहकारी पीडित, शिक्षक, नर्स तथा चिकित्सकहरूका समस्या समाधानमा सरकार गम्भीर नभएको उहाँको आरोप छ । सरकारले गरेका सम्झौताहरू कार्यान्वयन नहुँदा नागरिकको भरोसा राज्यबाटै टुट्दै जाने खतरा रहेको उहाँले बताउनु भयो । 

    उहाँले भन्नुभयो, लोकतन्त्रको आत्मा भनेकै कानुनको शासन हो। तर वर्तमान सरकारमा प्रचण्ड बहुमतको अहंकार देखिएको छ, जसले गर्दा शासकीय अराजकता निम्तिएको छ । प्रधानमन्त्रीले मन्त्रीहरूविना नै बैठक गर्ने र राज्यका महत्वपूर्ण निकायका प्रमुखहरूलाई हतोत्साहित गर्ने काम गरिरहनुभएको छ ।

    मुख्य व्यक्तिको कार्यशैली नै अराजक भएपछि त्यसको प्रभाव तल्लो तहसम्म पुगेको छ । अहिले नागरिकहरूमा ठुलो आक्रोश छ । यस्तो बेला कांग्रेसले आन्दोलनमा घिउ थप्ने काम गर्दैन । हाम्रो मुख्य जिम्मेवारी भनेको नागरिकको भरोसा राज्यमाथि कायम राख्नु र सरकारलाई आफ्ना सम्झौताप्रति जवाफदेही बनाउनु हो ।’

    प्रतिपक्षको भुमिकाबारे स्पष्ट पार्दै थापाले नेपाली काँग्रेसले जिम्मेवार राजनीतिक दलको रूपमा सरकारलाई उत्तरदायी बनाउन दबाब दिने बताउनु भयो ।

    सभापति थापाले काँग्रेसको आदर्श र सिद्धान्त नै विधिको शासन र लोकतन्त्र भएकाले अहिलेको प्रतिकूल अवस्थामा जनतालाई सम्हाल्ने र लोकतान्त्रिक मूल्यको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा रहेको समेत उल्लेख गर्नुभयो ।