आइतवार , श्रावण २४, २०८३
काठमाडौं, २४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारको चार महिनाको कार्यसम्पादनमा जनअपेक्षाअनुसार परिवर्तनको स्पष्ट आभास हुन नसकेको स्वीकार गर्नुभएको छ ।
नागरिकका सुझाव र गुनासाहरूलाई पार्टीले नजिकबाट सुनिरहेको उल्लेख गर्दै उनले वर्तमान अवस्थालाई लिएर चिन्तित नहुन आग्रह गर्नुभएको हो ।
नेपाली युवा उद्यमी मञ्चको २२ औँ वार्षिक साधारण सभामा बोल्दै सभापति लामिछानेले सरकार गठन भएको चार महिना मात्र भएकाले यसलाई पूर्ण मूल्याङ्कन गरिहाल्ने समय नभए पनि यो अवधिमा केही सकारात्मक परिवर्तनको सङ्केत देखिनुपर्ने बताउनु भयो ।
मुलुकको वर्तमान राजनीतिक परिस्थितिलाई हवाई उडानसँग तुलना गर्दै उनले कहिलेकाहीँ मौसमका कारण ‘टब्र्युलेन्स’ (अवरोध) आएपनि गन्तव्य सुरक्षित रहेको दाबी गर्नुभयो ।
आफ्नो पार्टीमा समाज परिवर्तनका लागि हुटहुटी भएका युवा र व्यावसायिक व्यक्तित्वहरूको समूह रहेको जिकिर गर्दै उनले कुनैपनि असहज परिस्थितिलाई सम्हाल्न सक्ने ‘राजनीतिक अभिभावकत्व’ रास्वपासँग रहेको बताउनु भयो ।
गैर–राजनीतिक पृष्ठभूमिबाट आएका विज्ञ र पेशेवरहरूको समूहले देश परिवर्तनका लागि लिएको यो चेतना र अवसर इतिहासमै दुर्लभ भएको उहाँको भनाइ छ ।
सभापति लामिछानेले भन्नुभयो, ‘हामीले भर्खरै सरकार बनाएका छौँ र ऐतिहासिक जनमत प्राप्त गरेका छौँ । त्यसैले चार महिनामै सरकारको मूल्याङ्कन गरिहाल्ने समय भइसकेको छैन । तर यो अवधिमा हामीले केही छनक देखाउन सक्नुपथ्र्यो भन्ने तपाईंहरूको सुझावलाई हामीले मनन गरेका छौँ । हामी हरेक दिन तपाईंहरूलाई सुनिरहेका छौँ । तर चिन्ता नगर्नुहोस् ।
गन्तव्यतर्फ अघि बढिरहेको हाम्रो उडानमा कहिलेकाहीँ मौसमका कारण टब्र्युलेन्स आउन सक्छ । त्यसैले ‘सिट ब्याक एन्ड रिल्याक्स, फास्टेन योर सिट बेल्ट ।’ हामी तपाईंहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पु¥याउँछौँ । अप्ठ्यारो परिस्थितिलाई सम्हाल्न सक्ने राजनीतिक नेतृत्व र जिम्मेवारी हाम्रो पार्टीसँग छ ।
किनकि यो पार्टीमा तपाईँहरूजस्तै केही गरौँ भन्ने हुटहुटी भएका युवाहरू छन् । परिवर्तनका लागि गैरराजनीतिक पृष्ठभूमिका प्रोफेसनलहरूको ठूलो समूह एकजुट भएर अघि बढ्ने चेतना कुनैपनि देशले सहजै पाउँदैन । हामी अहिले त्यही चेतनाको अवस्थामा छौँ । यो हाम्रो मात्र सरकार होइन, यो तपाईंहरूको सरकार हो । इतिहासले दिएको यो अवसरलाई तपाईंहरूसँग सहकार्य गर्दै देश निर्माणमा सदुपयोग गर्न चाहन्छौँ ।’
यो सरकार नागरिककै भएको र इतिहासले सुम्पिएको यो जिम्मेवारीलाई जनतासँगको सहकार्यमा नै सफल बनाउने प्रतिवद्धता समेत सभापति लामिछानेले व्यक्त गर्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij