२०८३, श्रावण २४ गते

Aug 09 2026 | २०८३, श्रावण २४ गते

जनताले दिएको बहुमत मनोमानी गर्नका लागि होइन : वरिष्ठ अधिवक्ता त्रिपाठी

आइतवार , श्रावण २४, २०८३

  • 232
    Shares
  • 232
    Shares
  • भैरहवा, २४ साउन । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सरकारमा बसेकाहरुलाई जनताले दिएको बहुमत मनोमानी गर्नका लागि नभएको बताउनुभएको छ । उहाँले स्वेच्छाचारी, निरंकुशता र कुशासनका लागि जनताले मत नदिएको बताउनुभयो ।

    नेपाल मानव अधिकार संगठन जिल्ला शाखा, रुपन्देहीद्वारा आइतबार भैरहवामा आयोजित वर्तमान सन्दर्भ र नागरिक सरोकार विषयक अन्तरक्रियामा बोल्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले अभिव्यक्ति स्वतन्त्रता र विचारमाथिको प्रहार स्वीकार्य नभएको बताउनुभयो ।

    ‘जनताले राजनीतिक दललाई दिएको बहुमत मनोमानी गर्नका लागि होइन । स्वेच्छाचारी, निरंकुशता र कुशासनका लागि मत दिएको होइन । तपाईहरु पनि पुराना नेताको नयाँ ‘भेरियन्ट’ को रुपमा आउनुभएको हामीले महसुस गरिरहेका छौं । तपाईहरु त्यो भन्दा फरक देखिनुभएन । पुरानो नेताको फोटोकपीको रुपमा आउनुभएको छ । जनताले चार महिनामै यो कुरा बुझन थालेको छ । पुराना नेता–पार्टीहरुलाई बदनाम हुन पनि २० औं वर्ष लाग्यो । तपाईहरुको त ३–४ महिनामै ओरालो यात्रा सुरु भयो, ’उहाँले भन्नुभयो ।

    उहाँले भय र त्रासको मनोविज्ञानमा बसेर लोकतन्त्र बलियो हुन नसक्ने बताउनुभयो । लोकतन्त्र नागरिककेन्द्रीत प्रणाली भएको, यसमा नागरिकको आवाज मुखरित हुनुपर्ने र सरकारले त्यो आवाज सुन्नुपर्ने उहाँको भनाइ छ । लोकतन्त्रको लडाई अझै पनि नसकिएको उहाँले बताउनुभयो । ‘लोकतन्त्रका खतरा/चुनौतीलाई हामीले बुझ्न जरुरी छ । लोकतन्त्रको सबलीकरणका लागि नागरिकको आवाज मजबुत हुनुपर्छ, ’उहाँले भन्नुभयो । सरकारले गरेका बदमासीमा मौन भएर बसे लोकतन्त्र घनिभूत हुन नसक्ने वरिष्ठ अधिवक्ता त्रिपाठीले बताउनुभयो ।

    ‘लेखेर राख्नुस् आजको मितिमा चुनाव गराउने हो भने अत्याधिक मतले जितेका ९० प्रतिशत सांसद्हरुको जमानत जफत हुनेवाला छ । म देशव्यापी घुमिरहन्छु ।          हजारौंसँग मेरो अन्तरक्रिया भइरहेको छ । मुख थुनाउनलाई जनताले भोट दिएको होइन, ’उहाँले भन्नुभयो । 

    यो सरकार आउनेबित्तिकै निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन नदिने सूचना निकालेर मिडियामाथि प्रतिबन्ध लगाउन खोजेको उहाँले बताउनुभयो । सर्वोच्च अदालतमा चौथो वरियताको व्यक्तिलाई प्रधानन्यायाधीश बनाइएपछि आफूले रिट निवेदन दर्ता गराउन जाँदा दर्ता नगरिएको उहाँले बताउनुभयो । 

    संसद छलेर कानून अध्यादेशबाट संशोधन गरिएको र यो भन्दा ठूलो संसदको उपहास केही नभएको उहाँले बताउनुभयो । अध्यादेशद्वारा संविधानलाई ग्रहण लगाउन मिल्छ भन्दै उहाँले प्रश्न गर्नुभयो ? ‘हिजो पनि मलको हाहाकार थियो, आज पनि छ । सरकारले नेपालमा रासायनिक मलको कारखाना खोल्छौं भन्न सकेन । सुन, हिरामा कर घटाएर शिक्षा र स्वास्थ्यमा कर बढाइयो । गरीबी कहाँ छ चिन्नुपर्यो । सरकारले सुशासन दिन सक्नुपर्छ । जनताले पैसा तिरेर पनि ग्यास पाइरहेको छैन । सरकारले जनतालाई राहत दिनुपर्छ, ‘त्रिपाठीले भन्नुभयो ।

    नेपाल मानव अधिकार संगठन, रुपन्देहीका सभापति प्राध्यापक सुदर्शन प्रसाद नेपालको अध्यक्षता, उपसभापति रुपमा हिराचनको स्वागत तथा सचिव राजेश जि.सी.को सञ्चालनमा सम्पन्न कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाको पूर्व उपप्रमुख उमा काफ्ले, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका महासचिव कृष्ण प्रसाद घिमिरे, गोपाल भण्डारी, धिरज मल्लिक, डा. शम्भु गुप्ता, विरेन्द्र ज्ञवाली, विजय अधिकारी, कमल ज्ञवाली, शान्ता कंडेल, ललिता बछारलगायतले बोल्नुभएको थियो ।