सोमवार , श्रावण २५, २०८३
भैरहवा, २५ साउन । रुपन्देहीको भैरहवामा ३२ औं विश्व आदिवासी दिवस मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् सिद्धार्थनगर, रुपन्देहीले एक समारोहको आयोजना गरी दिवस मनाएको हो ।
समारोहमा सम्बोधन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले संविधानले आदिवासी जनजातिलाई दिएको अधिकारको रक्षा गर्नुपर्नेमा बताउनुभयो । उहाँले मुलुकमा भएका विभिन्न परिवर्तनमा आदिवासी जनजातिको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । ‘यहाँहरुले शिक्षामा विशेष जोड दिनुपर्छ, ’उहाँले भन्नुभयो–‘राज्यका महत्वपूर्ण ओहोदामा पुग्नुपर्छ ।’
त्यस्तै विशिष्ट अतिथि नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् सिद्धार्थनगरका संस्थापक अध्यक्ष चन्द्र बहादुर राना मगरले आफूहरुले कहिल्यै हार नमाने बताउनुभयो । उहाँले अधिकार पाउन आवश्यक परे संघर्ष गर्नुपर्ने बताउनुभयो ।
समाजसेवी सुशील गुरुङले आदिवासी जनजातिको अधिकार र पहिचानलाई कसरी स्थापित गर्ने नै अहिलेको मुद्दा भएको बताउनुभयो । उहाँले राज्य सञ्चालकहरुले आदिवासी जनजातिका आवाज सुन्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वक्ताहरूले आदिवासी जनजातिको मौलिक भाषा, संस्कृति, परम्परा र पहिचान संरक्षणका लागि समुदायसँगै राज्यको भूमिका पनि महत्वपूर्ण रहेको बताएका छन् । संविधानले सुनिश्चित गरेका अधिकार व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिदै राजनीतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागीता आवश्यक रहेको उनीहरूको भनाइ छ । त्यस्तै, पुस्तौदेखि हस्तान्तरण हुँदै आएका परम्परागत ज्ञान, सीप र अभ्यासको संरक्षण गर्नुपर्नेमा पनि वक्ताहरूले जोड दिएका छन् । आधुनिक विकाससँगै मौलिक पहिचान र संस्कृतिलाई जोगाउन नसके भावी पुस्ताले आफ्नो इतिहास र परम्परा गुमाउन सक्ने भन्दै उनीहरूले सचेत गराएका छन् ।
प्रेम बहादुर गुरुङको अध्यक्षता, सुकमाया गुरुङको स्वागत तथा रुपेश पुलामी मगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा उमेश थापा लाटोमगर, रुपयमाया पुन, सावित्री गुरुङ, गणेश शेरचन, भाग्यवान महर्जन, कृष्ण बहादुर गुरुङ, विजय गोविन्द श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा आदिवासी जनजातिका मौलिक भेषभूषासहितका साँस्कृतिक नृत्य तथा वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरिएको थियो । ‘प्राप्त अधिकार रक्षा आजको आवश्यकता, पहिचान, समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिवद्धता’ भन्ने मूल नाराका साथ आइतबार विभिन्न कार्यक्रम गरी ३२ औं विश्व आदिवासी दिवस मनाइएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij