२०८३, श्रावण ३१ गते

Aug 16 2026 | २०८३, श्रावण ३१ गते

सुस्तामा कटान नियन्त्रणका लागि सारथी बन्दै आयोजना प्रमुख

आइतवार , श्रावण ३१, २०८३

  • 439
    Shares
  • 439
    Shares
  • पश्चिम नवलपरासी, ३१ साउन । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीले तटबन्धको माथिल्लो भाग तीव्र रूपमा कटान गरेपछि तटीय क्षेत्रमा जोखिम बढेको छ । नदी नियन्त्रण तथा रोकथामका लागि नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख डा. नारायण प्रसाद सुवेदी सुस्ताबासी र प्राविधिक टोलीसँगै नियन्त्रण कार्यमा अग्रसर देखिनुभएको छ ।

    विगत एक सातादेखि कार्यस्थल (साइट) मै रहेर डा. सुवेदीले तटबन्धको कार्यको प्रत्यक्ष नेतृत्व गरिरहनुभएको छ । प्राविधिक काम मात्र नभइ कामलाई तीव्र बनाउन आफै बालुवाका बोरा भर्ने, पर्कुपाइन सेट गर्ने र पर्खाल निर्माणमा हातेमालो गर्दै उहाँ जुट्नुभएको हो ।

    सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालका अनुसार आयोजना प्रमुख आफै खटिएर श्रमदानसरह काम गर्दा स्थानीय र कामदारहरूमा थप उत्साह र भरोसा पैदा भएको छ । ‘नदी कटानको यो संकटपूर्ण समयमा आयोजना प्रमुख आफै फिल्डमा खटिएर श्रमदानको भावनाका साथ काम गरिरहनुभएको छ । राष्ट्रियसेवक कर्मचारी यसरी आफै मैदानमा उत्रिएर काम गर्दा स्थानीय समुदायमा ठूलो राहत र हौसला मिलेको छ, ’जयसवालले भन्नुभयो ।

    लगातारको  शारीरिक श्रमका कारण आयोजना प्रमुख सुवेदीको ढाडमा समस्या (ढाड सड्किएर बिरामी) आए तापनि नदी कटानको गम्भीरतालाई ध्यानमा राख्दै उहाँले कार्यस्थल छाड्नुभएको छैन । हाल सयौंको संख्यामा स्थानीयबासी, प्राविधिक र कामदारहरू कटान नियन्त्रणमा जुटिरहेका छन् ।

    आफ्नो उपस्थिति र सक्रियताबारे आयोजना प्रमुख डा. सुवेदीले नागरिक सुरक्षा नै प्राथमिक जिम्मेवारी भएको बताउनुभयो । ‘यो विपद्को समय हो । प्राविधिक टोली र स्थानीय समुदायसँग मिलेर काम गर्दा मात्रै संकट टार्न सकिन्छ । मेरो उपस्थिति कुनै देखावटी होइन, दायित्व पूरा गर्ने प्रयास मात्र हो, ’उहाँले भन्नुभयो ।

    संकटको घडीमा कार्यस्थलमा खटिने कर्मचारी र प्राविधिक टोलीको यस्तो तदारुकतालाई माथिल्लो निकायले पनि उचित समयमा सम्बोधन गर्न आवश्यक छ । स्थानीय तह र आयोजनाको स्रोतसाधनले भ्याएसम्म बचाउ कार्य तीव्र बनाइए पनि माथिल्लो निकाय र मन्त्रालयकोतर्फबाट तुरुन्तै प्रशासनिक तथा प्राविधिक सहयोग पुर्याउनुपर्ने देखिन्छ ।