मंगलवार , भाद्र २, २०८३
भैरहवा, २ भदौ । जनता समाजवादी पार्टी नेपाल, लुम्बिनी प्रदेश सभा संसदीय दलले प्रदेश सभा सदस्य अम्बिका काफ्लेलाई स्पष्टीकरण सोधेको छ । संसदीय दलको निर्णय र ह्वीपविपरीत मुख्यमन्त्री चेतनारायण आचार्यले मागेको विश्वासको मतको पक्षमा मतदान नगरेको भन्दै दलले काफ्लेलाई तीन दिनभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको हो ।
संसदीय दलका नेता सन्तोष कुमार पाण्डेयले काफ्लेलाई स्पष्टीकरण सोध्नुभएको हो । पत्रमा भदौ १ गते प्रदेश सभामा भएको मुख्यमन्त्री आचार्यको विश्वासको मतसम्बन्धी प्रस्तावमा जसपा नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दलले पक्षमा मतदान गर्ने निर्णय गरेको र सोहीअनुसार ह्वीप जारी गरेको उल्लेख छ ।
दलको निर्णय र निर्देशनविपरीत कार्य गरेको भन्दै संसदीय दलले काफ्लेसँग तीनवटा प्रश्नको जवाफ मागेको छ । काफ्ले जसपा नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दलको सदस्य भए नभएको, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दलले जारी गरेको निर्देशन पालना नगर्नुको कारण र दलको निर्देशन पालना गर्नु आफ्नो दायित्व भए नभएकोबारे स्पष्टीकरण मागिएको छ ।
मुख्यमन्त्री आचार्यले भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिँदा उनको पक्षमा ४५ र विपक्षमा २६ मत परेको थियो । जसपा नेपालले सरकारको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij