२०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

फोटोवाक-२०२६ ले दियो विश्व शान्तिको सन्देश

शुक्रवार , भाद्र ५, २०८३

  • 298
    Shares
  • 298
    Shares
  • भैरहवा, ५ भदौ । बुद्ध जन्मस्थल लुम्बिनीमा शान्तिको सन्देश शब्दमा मात्र  होइन हरेक दृश्यमा अनुभूति गर्न सकिन्छ । हरियाली पर्यावरण, ऐतिहासिक सम्पदा, विभिन्न देशहरुका आकर्षक विहार, मायादेवी मन्दिर वरिपरीको वातावरणले लुम्बिनीलाई आफैमा एउटा जीवन्त तस्बिर बनाएको छ । यही सौन्दर्यलाई क्यामेराको लेन्समा कैद गर्दै लुम्बिनीमा फोटोवाक–२०२६ सम्पन्न भएको छ ।

    १८७ औं विश्व फोटोग्राफी दिवसको अवसरमा लुम्बिनी फोटोग्राफर संघको आयोजना तथा लुम्बिनी विकास कोषको सहयोगमा आयोजित फोटोवाक तस्बिर खिच्ने कार्यक्रम मात्र बनेन, लुम्बिनीको पर्यावरण, संस्कृति र पर्यटनलाई तस्बिरमार्फत विश्वसामु चिनाउने अभियानका रूपमा समेत प्रस्तुत भयो ।

    फोटोग्राफरहरू क्यामेरा बोकेर लुम्बिनीका विभिन्न क्षेत्र पुगे । कसैले ऐतिहासिक सम्पदालाई आफ्नो फ्रेममा कैद गरे भने कसैले प्रकृतिको सुन्दरता खोजे । कसैले आध्यात्मिक, धार्मिक तथा साँस्कृतिक गतिविधिलाई क्यामेरामा कैद गरे । हरेक तस्बिरमा लुम्बिनीको फरक कथा देखिन्थ्यो ।

    कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्वमन्त्री चन्द्रकेश गुप्ता (सि.के)ले फोटोग्राफरहरूले खिचेका तस्बिरलाई पर्यटन प्रवद्र्धनको प्रभावकारी माध्यम बनाउन सकिने बताउनुभयो । उहाँले प्रदेश तथा स्थानीय सरकारले फोटोग्राफरहरूलाई आवश्यक सहयोग गर्दै तस्बिरमार्फत पर्यापर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

    त्यस्तै नेपाल फोटोग्राफर महासंका अध्यक्ष तथा लुम्बिनी फोटोग्राफर संघका सल्लाहकार महेन्द्र प्रसाद उपाध्यायले फोटोग्राफी केवल पेशा नभइ देशका सम्पदालाई विश्वसामु चिनाउने माध्यम रहेको बताउनुभयो । उहाँले सरकारी निकायले फोटो व्यवसायीलाई प्रोत्साहन र सहयोग गर्न सके नेपालका धार्मिक, पर्यटकीय तथा ऐतिहासिक सम्पदाको प्रचार–प्रसार अझ प्रभावकारी बन्ने बताउनुभयो । एउटा राम्रो तस्बिरले पर्यटकलाई कुनै ठाउँसम्म पुग्ने इच्छा जगाउन सक्ने उहाँको विश्वास छ।

    लुम्बिनी विकास कोषका निमित्त कार्यालय प्रमुख हिमाल उप्रेतीले फोटोग्राफी र पर्यटनबीचको सम्बन्धलाई जोड दिनुभयो । उहाँले लुम्बिनी विकास कोष र लुम्बिनी फोटोग्राफर संघबीचको सहकार्यमा यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिन सके लुम्बिनीको धार्मिक, ऐतिहासिक तथा साँस्कृतिक महिमा थप उजागर हुने बताउनुभयो ।

    फोटोवाकमा सहभागी फोटोग्राफरका लागि लुम्बिनी एउटा खुला स्टुडियो जस्तै थियो । यहाँको प्रकृति, पुरातात्त्विक सम्पदा, मानिसको जीवनशैली र धार्मिक तथा आध्यात्मिक वातावरण सबै क्यामेराका लागि विषय बने ।

    लुम्बिनी फोटोग्राफर संघका अध्यक्ष दिनेश अर्यालका लागि भने यो कार्यक्रम अझ विशेष थियो । संघले पहिलोपटक लुम्बिनीमै विश्व फोटोग्राफी दिवसको अवसरमा कार्यक्रम आयोजना गर्न पाएकोमा खुसी व्यक्त गर्नुभएको छ । उहाँले लुम्बिनीमा आयोजना गरिएको यस्तो रचनात्मक कार्यक्रमले यहाँको पुरातात्विक, धार्मिक तथा पर्यापर्यटन प्रवद्र्धनमा थप योगदान पुर्याउने बताउनुभयो ।
    मनोज क्षेत्रीको संयोजनमा सम्पन्न कार्यक्रममा संघका सल्लाहकार माधव प्रसाद पन्थ, लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेत, लुम्बिनी होटल संघका अध्यक्ष लीलामणि शर्मा लगायतको उपस्थिति थियो । प्रथम उपाध्यक्ष माधवप्रसाद पन्थको स्वागत तथा महासचिव त्रिभुवन पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    WhatsApp Image 2026-08-21 at 9.06.22 AM.jpeg

    लुम्बिनीको सौन्दर्य हेर्ने आँखाहरू धेरै छन् । तर त्यसलाई संसारसम्म पुर्याउने माध्यममध्ये एउटा शक्तिशाली माध्यम हो–फोटोग्राफी । फोटोवाक–२०२६ ले यही सन्देश दिएको छ–एउटा तस्बिरले हजार शब्द बोल्छ, र लुम्बिनीको एउटा सुन्दर तस्बिरले विश्वभर शान्तिको सन्देश पुर्याउन सक्छ । क्यामेराका लेन्समा कैद भएका ती दृश्य अब केवल फोटोग्राफरका सम्झना मात्र होइनन्। ती लुम्बिनीको पहिचान, पर्यटनको सम्भावना र विश्व शान्तिको सन्देश बोकेका दृश्य बनेका छन् ।