२०८३, भाद्र ७ गते

Aug 23 2026 | २०८३, भाद्र ७ गते

एक वर्षमा ७४२ जनाको उद्वार

आइतवार , भाद्र ७, २०८३

  • 355
    Shares
  • 355
    Shares
  • भैरहवा, ७ भदौ । शुभ अवसर ग्राम नेपाल, भैरहवा शाखाले एक वर्षको अवधिमा बेचबिखनमा परेका तथा जोखिममा रहेका ७४२ जनाको उद्वार गरेको छ । मानव बेचबिखनविरुद्ध कार्यरत यो संस्थाले गत आर्थिक वर्ष २०८२–०८३ मा ७४२ जनाको उद्वार गरेको हो । 

    उद्वार गरिएकामध्ये ५५७ जना भारतका विभिन्न स्थानबाट स्वदेश फर्काइएका हुन् । त्यस्तै २१३ जनालाई घरमै पुर्याएर अभिभावकको जिम्मा लगाइएको छ । त्यसै गरी १५६ जनालाई सुरक्षित आवास गृहमा राखेर स्वास्थ्य उपचार, शिक्षा, सीपमूलक तालिम, शैक्षिक छात्रवृत्ति तथा कानूनी सहायता जस्ता सेवा प्रदान गरिएकोे छ । संस्थाले आर्थिक वर्ष २०८१–०८२ मा ३४२ जना र आर्थिक वर्ष २०८०–८१ मा २८७ जनाको उद्वार गरेको थियो ।

    बेचबिखन, शारीरिक श्रम शोषण, ठगी तथा अलपत्र अवस्थामा रहेका उनीहरूलाई शुभ अवसर ग्राम नेपालको भारतस्थित साझेदार संस्था किन इन्डिया, नेपाली राजदूतावास तथा भारतीय प्रहरीको समन्वयमा उद्वार गरी नेपाल ल्याइएको संस्थाले जनाएको छ ।
    शाखाले आर्थिक वर्ष २०८२–०८३ मा मानव बेचबिखनविरुद्ध २० वटा अभियान तथा कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

    शाखा प्रमुख सत्यनारायण यादवले पछिल्ला वर्षमा मानव बेचबिखन तथा जोखिममा पर्ने व्यक्तिको संख्या बढ्दै गएको बताउनुभयो । विशेष गरी चिया, खाजा तथा नास्ता पसलमा समेत मानव बेचबिखन र यौन शोषणका घटना हुने गरेको यादवले बताउनुभयो । ‘रोजगार, राम्रो आम्दानी तथा आकर्षक अवसरको प्रलोभन देखाएर महिला तथा बालबालिकालाई सीमापार लैजाने र शोषण गर्ने घटना चुनौतीका रूपमा देखिएको छ, ’उहाँले भन्नुभयो । मानव बेचबिखनविरुद्धको अभियान सञ्चालन गर्दा विभिन्न चुनौतीहरु सामना गर्नुपरेको यादवले बताउनुभयो । उहाँका अनुसार पीडितको निवेदन तथा जाहेरी सहज रूपमा दर्ता नहुनेदेखि उद्वारमा खटिएका कर्मचारीमाथि कुटपिटसम्मका घटना हुने गरेका छन् । 

    उद्वार गरिएकामध्ये ४१ प्रतिशत १८ वर्षमुनीका र ५१ प्रतिशत १८ देखि ३५ वर्ष उमेर समूहका रहेको संस्थाले जनाएको छ । यसले बालबालिका मात्र नभइ युवा र महिला समेत बेचबिखनको उच्च जोखिममा रहेको देखाएको छ ।