२०८३, भाद्र ८ गते

Aug 24 2026 | २०८३, भाद्र ८ गते

बैंकिङ क्षेत्रका समस्या समाधानका लागि ‘बाफिया’ संशोधन गर्न सांसद अधिकारीको माग

सोमवार , भाद्र ८, २०८३

  • 259
    Shares
  • 259
    Shares
  • काठमाडौँ, ८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा संशोधन गरी बैंकिङ क्षेत्रमा देखिएका विद्यमान समस्याहरूलाई सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । 

    सोमवार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद अधिकारीले बैंकिङ क्षेत्रमा देखिएका कतिपय व्यावहारिक जटिलताहरूले समग्र क्षेत्रमै नकारात्मक प्रभाव पारिरहेको भन्दै यसतर्फ ध्यानाकर्षण गराउनुभएको हो । उहाँले सामान्य प्रकृतिका समस्या वा ऋण असुलीका विषयलाई सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सीईओ) को योग्यतासँग जोडेर पदमा बस्न नमिल्ने बनाइनु असान्दर्भिक रहेको उल्लेख गर्नुभयो । 

    उहाँले भन्नुभयो, ‘साधारण प्रकृतिका समस्याहरूलाई सञ्चालक समितिसँग जोड्ने र उनीहरूलाई बोर्डमा बस्न वा सीईओ हुन नपाउने व्यवस्था गर्नु न्यायोचित देखिँदैन । यस्ता प्रावधानले बैंकिङ क्षेत्रमा नेतृत्वको रिक्तता (भ्याकुम) सृजना गर्ने र कार्यरत जनशक्तिमा मानसिक तनाव बढाउने जोखिम रहन्छ ।’

    उहाँले बैंकिङ क्षेत्रका सरोकारवालाहरूले यस विषयमा सम्बन्धित निकायहरूसँग निरन्तर छलफल गरिरहेको जानकारी दिँदै ऐन संशोधनमार्फत यसको दीर्घकालीन समाधान खोजिनुपर्ने बताउनु भयो । समितिका अन्य सदस्यहरूबीच पनि यस विषयमा सामान्यतया एकरुपता रहेको उल्लेख गर्दै उहाँले बाफियाको प्रश्तावित संशोधनमा यी विषयहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्न सुझाव दिनुभयो ।