२०८३, भाद्र ८ गते

Aug 24 2026 | २०८३, भाद्र ८ गते

संगीतको धुनमा गुन्जिएको सीमापारीको सम्बन्ध : नेपाल-भारत मैत्री उत्सव

सोमवार , भाद्र ८, २०८३

  • 217
    Shares
  • 217
    Shares
  • नवलपरासी (पश्चिम), ८ भदौ । वर्ष २०२६ मा भारतले आफ्नो ८० औं स्वतन्त्रता दिवस मनाइरहँदा सीमावर्ती सहर कपिलवस्तुको तौलिहवामा त्यसको विशेष रौनक देखिएको छ । सोही अवसर पारेर काठमाडौंस्थित भारतीय दूतावासको आयोजनामा तौलिहवामा सांगीतिक तथा साँस्कृतिक उत्सव भएको छ ।

    सीमा क्षेत्रका गल्लीहरूमा जब सांगीतिक धुन गुन्जिन्छ, तब सीमा रेखाका नक्साहरू धमिलो बन्छन् र केवल मुटुको धड्कन सुनिन्छ ।  दुई देशका नागरिकलाई राजनीतिक नक्साले छुट्याए पनि कला, संस्कृति र जनस्तरको अटुट सम्बन्धले सधैं जोडिरहन्छ । यस्तै आत्मीयताको एउटा सुन्दर झलक देखियो, बुद्धभूमि कपिलवस्तुको तौलिहवामा ।

    काठमाडौंस्थित भारतीय दूतावासको आयोजनामा सम्पन्न सांगीतिक तथा साँस्कृतिक कार्यक्रमले तौलिहवाको माहोललाई उत्सवमय मात्र बनाएन, दुई छिमेकी राष्ट्रबीचको शताब्दीऔं पुरानो सांगीतिक र सांस्कृतिक पुललाई अझ मजबुत बनायो । जब मञ्चमा भारतीय गायक राजेश पाण्डेले देशभक्तिले ओतप्रोत कालजयी गीतहरू प्रस्तुत गरे, तब उपस्थित दर्शकदीर्घा मन्त्रमुग्ध बन्यो । ‘जब शून्य दिया मेरे भारत ने, दुनिया को तब गिन्ती आयो’ र ‘है प्रीत जहाँ की रीत सदा’ जस्ता लोकप्रिय गीतहरू गुन्जिँदा सभाहलमा गुन्जिएको तालीको गडगडाहटले संगीतको कुनै सीमा हुँदैन भन्ने सत्यलाई पुनः पुष्टि गर्यो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले नेपाल र भारतको सम्बन्ध केवल कूटनीतिक दस्तावेजमा सीमित नरहेर तल्लो तहका नागरिकको पारिवारिक र साँस्कृतिक बन्धनमा आधारित रहेको बताउनुभयो । उहाँले गौतमबुद्धको क्रिडास्थल कपिलवस्तु र जन्मस्थल लुम्बिनीसँग जोडिएको यस ऐतिहासिक भूमिमा यस्ता सांस्कृतिक आदानप्रदान हुनुले दुवै देशको साझा बौद्ध तथा सांस्कृतिक विरासतको प्रवद्र्धन गर्ने बताउनुभयो ।

    भारतीय दूतावासका संयोजक वसीम मलिकले यस्ता कार्यक्रमहरूले दुई देशका जनताबीच आपसी सद्भाव, विश्वास र भातृत्वको भावनालाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

    लुम्बिनी विकास कोषका निवर्तमान सदस्य राजेश ज्ञवालीको संयोजन र किमोद थापाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा भारतीय दूतावासका प्रतिनिधि अरविन्द सिंह, स्थानीय पालिका प्रमुखहरू गोपाल थापा र कमलेश शरण चौधरी, सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरे तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो ।

    dc5f9c6e-f546-4cc5-aea7-57e5d6eff8e2.jpg

    वर्षहरू बित्लान्, मितिहरू पुराना होलान् । तर, संगीतको माध्यमबाट तौलिहवामा पोखिएको यो आत्मीयता र सीमापारीको न्यानो भातृत्व भने सधैं ताजा र अमर रहनेछ ।