२०८३, भाद्र ८ गते

Aug 24 2026 | २०८३, भाद्र ८ गते

१५० औं जयपृथ्वी जन्मजयन्तीका अवसरमा सर्जकहरु सम्मानित

सोमवार , भाद्र ८, २०८३

  • 259
    Shares
  • 259
    Shares
  • भैरहवा, ८ भदौ । नेपाल बालसाहित्य समाज (नेबासास) ले विभिन्न अग्रज एवं अनुज स्रष्टालाई सम्मानित तथा पुरस्कृत गरेको छ । १५० औं जयपृथ्वीबहादुर सिंह जन्मजयन्तीका अवसरमा आइतबार ललितपुरको पाटन दरबार संग्रहालयमा नेबासास जयपृथ्वीबहादुर सम्मानसहित विभिन्न दाताले स्थापना गरेका पुरस्कार प्रदान गर्नुका साथै दस पुस्तकको विमोचन गरिएको हो ।

    नेबासास जयपृथ्वीबहादुर सम्मान नेबासासका पूर्वअध्यक्ष एवं नेपाली बालसाहित्यका इतिहासकार प्रमोद प्रधानलाई प्रदान गरिएको छ ।
    कार्यक्रममा प्रा. डा. चूडामणि बन्धुलाई नेबासास तेजप्रतिभा बालनियात्रा÷लोकवार्ता पुरस्कार, तेजप्रकाश श्रेष्ठलाई नेबासास मुकेश जनक बालविज्ञान पुरस्कार, प्रभात सापकोटालाई नेबासास चूडा–चरण बालजीवनी पुरस्कार, डा. जयन्ती रुपाखेतीलाई नेबासास ध्रुव–सुशीला बालसाहित्य अनुसन्धान पुरस्कार र अमेरिकामा रहनुभएका आभास अर्याललाई नेबासास विमला–मोहन प्रवासी बालस्रष्टा पुरस्कार प्रदान गरियो । सम्पूर्ण पुरस्कारको राशी १५ हजार रुपैयाँ थियो ।

    त्यस्तै आयन्स जवालीलाई नेबासास जयपृथ्वीबहादुर बालस्रष्टा पुरस्कार र अमृत विकलाई नेबासास जयपृथ्वीबहादुर बालकला पुरस्कार प्रदान गरिएको थियो । दुवैलाई प्रदान गरिएको पुरस्कारको राशी ५ हजार थियो ।

    दश बालपुस्तकको लोकार्पण

    कार्यक्रममा विभिन्न लेखकका पुस्तकसमेत विमोचन गरिएको थियो । नेबासासका महासचिव डा. विष्णु केसीको सम्पादनमा तयार बालसाहित्यका विधा : सिद्वान्त र परम्परा, केसीकै लेखनमा तयार कमिलाको बानी, इन्द्रेणी र चन्द्रबहादुर नामका तीन बालपुस्तक, नेबासासका अध्यक्ष विजयराज आचार्यको उपन्यास हितुवा र उहाँकै अनुवादमा तयार चिनियाँ बालउपन्यास जादुको छडी, कृष्ण बजगाईंका दुई उपन्यास स्यालको सिङ र आँखा झिम्काउने पहाड, रबिन्द्र मानन्धरको लेखन तथा चित्रांकन रहेको अध्याय पुस्तक मन्त्रपुरकी माया र उर्मिला ढुंगाना सुवेदीको हजुरआमाको भान्छा कोठा नामक बालपुस्तकको विमोचन गरिएको थियो ।

    89840748-e789-4de7-96cd-3fa480578ec2.jpg

    पुरस्कार तथा सम्मानबाट सम्मानित एवं पुरस्कृत व्यक्तित्वसँगै विमोचित सबै पुस्तकमाथि सर्जक शैलेन्दुप्रकाश नेपालले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो ।

    89840748-e789-4de7-96cd-3fa480578ec2.jpg

    रोल्पाबाट पुरस्कृत हुने बालगायक अमृत विकको प्रमुख आतिथ्यता तथा अग्रज बालसाहित्य सर्जक एवं नेबासासका संस्थापक तथा संरक्षक रामकुमार पाँडेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । नेबासासका अध्यक्ष विजयराज आचार्यले सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन विष्णु केसीले गर्नुभएको थियो । नेबासासका साथै पाटन संग्रहालय र सिविन नेपालको आयोजनामा कार्यक्रम भएको थियो ।