२०८३, भाद्र ९ गते

Aug 25 2026 | २०८३, भाद्र ९ गते

अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग माग : अध्यक्ष श्रेष्ठ

मंगलवार , भाद्र ९, २०८३

  • 202
    Shares
  • 202
    Shares
  • काठमाडौँ, ९ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको वर्तमान अर्थतन्त्रलाई गति दिन ‘रि–इञ्जिनियरिङ’ गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । 

    मंगलवार काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको ‘नाडा अटो शो’ को समुद्घाटन समारोहमा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताउनुभएको हो । समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले हाल बजार शिथिल रहेको र समग्र माग बढ्न नसक्दा उद्योगी व्यवसायीहरू इतिहासकै कठिन मोडमा पुगेको बताउनु भयो ।

    सरकारले आगामी ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर पु¥याउने, १०० अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने र १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखे पनि त्यसका लागि ठोस रणनीति र योजनाको अभाव रहेको उहाँले टिप्पणी गर्नुभयो । बजेटमा घोषणा गरिएका कार्यक्रमहरू कार्यान्वयनमा नआएको भन्दै उहाँले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउनु भयो । अटोमोबाइल क्षेत्रले मुलुकको अर्थतन्त्रमा पु¥याएको योगदानको चर्चा गर्दै अध्यक्ष श्रेष्ठले यस क्षेत्रलाई हेर्ने सरकारी दृष्टिकोणमा परिवर्तन आउनुपर्नेमा जोड दिनुभयो ।

    उहाँकाअनुसार गत वर्ष १ खर्ब ६ अर्ब रुपैयाँ बराबरको आयात हुँदा यस क्षेत्रबाट मात्रै ८१ अर्ब रुपैयाँ राजश्व संकलन भएको थियो । कुल राजश्वमा झन्डै ९ प्रतिशत योगदान दिने क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने उहाँको माग छ ।

    सरकारको ध्यानाकर्षण गराउँदै उहाँले आयातित वस्तुलाई स्वदेशमै उत्पादन गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो । टायर र ब्याट्रीको उत्पादन नेपालमै शुरु भइसकेको उल्लेख गर्दै उहाँले अन्य पार्टपुर्जा उत्पादनमा पनि लाग्न व्यवसायीहरूलाई आह्वान गर्नुभयो । नेपालले आगामी १० वर्षमा गुमाउन लागेको ‘जनसांख्यिक लाभ’लाई जोगाउन र युवा पलायन रोक्न पनि स्वदेशमै उद्योगधन्दाको विकास गर्नु अनिवार्य रहेको उहाँको तर्क थियो ।सरकारले पुराना र बन्द उद्योग सञ्चालन गर्ने तयारी गरिरहँदा हाल सञ्चालनमा रहेका उद्योगहरूको समस्यालाई उपेक्षा गर्न नहुनेमा उहाँले सचेत गराउनु भयो । 

    अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘विगत ३६ वर्षको व्यावसायिक यात्रामा मैले यस्तो प्रतिकूल समय र व्यवसायीको मनोबल यति कमजोर भएको कहिल्यै देखेको थिइनँ । झन्डै २२ अर्ब रुपैयाँको त स्पेयर पार्टस् मात्र आयात हुन्छ । यसलाई नेपालमै एसेम्बलिङ वा कन्ट्रयाक्ट म्यानुफ्याक्चरिङमार्फत उत्पादन गर्न प्रोत्साहन गर्नुपर्छ ।’

    अध्यक्ष श्रेष्ठले सरकारको १०० अर्ब डलरको अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा निजी क्षेत्र हातेमालो गर्न तयार रहेको प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । नाडा अटो शो २०२६ सम्म आइपुग्दा यस क्षेत्रले अझै ठूलो फड्को मार्ने विश्वास व्यक्त गर्दै उहाँले प्रदर्शनीको पूर्ण सफलताको कामना गर्नुभयो ।