२०८३, भाद्र ९ गते

Aug 25 2026 | २०८३, भाद्र ९ गते

लुम्बिनी प्रदेशका तीन नयाँ मन्त्रीले लिए शपथ

मंगलवार , भाद्र ९, २०८३

  • 364
    Shares
  • 364
    Shares
  • रुपन्देही, ९ भदौ । लुम्बिनी प्रदेश सरकारका तीनजना नवनियुक्त मन्त्रीले मंगलबार (आज) पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष रुपन्देहीको बुटवलमा नवनियुक्त स्वास्थ्य मन्त्री दीपेन्द्र कुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारू र कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री कृष्णा कुश्मा थारूले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको हो । 

    मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्तीमगर, उपसभामुख मेनुका खाँडकेसीलगायतको विशेष उपस्थितिमा शपथग्रहण समारोह आयोजना गरिएको थियो । प्रदेश प्रमुख घर्तीमगरले मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको थियो ।

    मन्त्रिपरिषद् पुनर्गठनसँगै तुलसी प्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोष कुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

    यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएका रामजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहनुभएका तुलसी प्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ । त्यस्तै सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएका सन्तोष कुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    वर्तमान सरकारमा नेकपा (एमाले) बाट मुख्यमन्त्रीसहित चारजना, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट तीनजना र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट दुईजना मन्त्री रहने गरी भएको सहमतिअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । केन्द्रमा आएको राजनीतिक परिवर्तनसँगै नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि लुम्बिनी प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीसँग सत्ता साझेदारी अघि बढेको हो ।

    लुम्बिनी प्रदेश सभामा एमालेका २९, नेपाली कांग्रेसका २७, नेकपाका  १३, जसपा नेपालका ५, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, जनमत पार्टीका ३, राष्ट्रिय जनमोर्चाका १ र १ जना स्वतन्त्र गरी ८३ जना सदस्य छन् ।