बिहिवार , भाद्र ११, २०८३
भैरहवा, ११ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५, कोटिहवा केन्द्रीय कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाढीप्रभावितका लागि ८ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । संस्थाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउनसामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग घोषणा गरिएको संस्थाले जनाएको छ ।
संस्थाले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मार्फत उक्त सहयोग उपलब्ध गराउने अध्यक्ष गिरी प्रसाद पुनले बताउनुभयो । बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले संस्थाले विभिन्न स्रोतबाट रकम संकलन गर्ने निर्णय गरेको अध्यक्ष पुनले जानकारी दिनुभयो ।
‘संस्थाको साधारण सभाले विपत्तिको समयमा सहयोग गर्न शेयर सदस्यको खाताबाट रकम झिकेर सहयोग गर्न सक्ने अख्तियारी सञ्चालक समितिलाई दिएको थियो । सोही अख्तियारीअनुसार प्रत्येक सदस्यको खाताबाट १० रुपैयाँका दरले सहयोग गर्ने निर्णय गरिएको हो, ’उहाँले भन्नुभयो ।
४५ हजार शेयर सदस्यबाट प्रतिव्यक्ति १० रुपैयाँका दरले ४ लाख ५० हजार रुपैयाँ, संस्थाका समिति तथा उपसमितिका पदाधिकारीबाट एक दिनको भत्ताबापत १ लाख रुपैयाँ, संस्थाकोतर्फबाट १ लाख ५५ हजार रुपैयाँ र कर्मचारीबाट एक दिनको तलबबापत १ लाख रुपैयाँ सहयोग गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) रन बहादुर थापाले जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij