बिहिवार , भाद्र ११, २०८३
पश्चिम नवलपरासी, ११ भदौ । बिहानीको सिरसिरे हवामा घामको कलिलो किरण फैलिँदै गर्दा पश्चिम नवलपरासीको सदरमुकाम परासीको मुहार अर्कै कान्तिले चम्किएको थियो । सडकभरी लहराइरहेका सद्भावका ब्यानर, अनुशासित कदम बढाउँदै अघि बढेका सयौं श्रद्धालुहरूको लहर र सडकका दुवै किनारबाट हार्दिकताका साथ स्वागत गरिरहेका स्थानीयबासी । वातावरणमा केवल एउटा धार्मिक उत्सवको रौनक मात्र थिएन, त्यहाँ वर्षौंदेखि जरा गाडेर बसेको आपसी मेलमिलाप, भाइचारा र मानवताको सुरिलो धुन गुञ्जिरहेको थियो ।
उलमा फाउण्डेशन नेपालको आयोजनामा पैगम्बर हजरत मोहम्मद मुस्तफा (सल्लल्लाहु अलैहि वसल्लम) को १५०१ औं जन्मोत्सव (जुलुसे मोहम्मदी) का अवसरमा परासीमा पोखिएको यो दृश्यले केवल एउटा समुदायको पर्वको झल्को मात्र दिएको थिएन, बरु हिन्दु र मुस्लिम समुदायबीचको युगौंदेखिको गहिरो सम्बन्ध र सामाजिक एकतालाई थप मजबुत बनाएको थियो ।
शान्ति, करुणा र साम्प्रदायिक सौहार्दता
शान्तिका प्रतीक ब्यानरसहित निकालिएको जुलुसले परासीको मुख्य बजार परिक्रमा गर्दा पूरै सहर धार्मिक उत्सव र सामाजिक सौहार्दताको साझा आँगन बनेको थियो । बालबालिकादेखि ज्येष्ठ नागरिक, व्यवसायी, समाजसेवी र उलेमाहरूसँगै स्थानीय हिन्दू समुदायका अगुवा तथा सर्वसाधारणको उपस्थिति र सहयोगले यो कार्यक्रमलाई साँचो अर्थमा बहुसाँस्कृतिक एकताको उत्सव बनाएको थियो ।
पैगम्बर हजरत मोहम्मद मुस्तफाको आदर्श, दया, प्रेम, न्याय र मानव सेवाको सन्देशलाई जन–जनसम्म पु¥याउने उद्देश्यका साथ निकालिएको जुलुसमा सहभागीहरूले एक–अर्काप्रति साटासाट गरेको सम्मान, अंकमाल र मुस्कानले परासीको ऐतिहासिक धार्मिक सहिष्णुताको उँचाइलाई अझ थपेको थियो ।
नेतृत्व र अनुशासित व्यवस्थापन
जुलुसको नेतृत्व उलमा फाउण्डेशन नेपालका केन्द्रीय अध्यक्ष हजरत मौलाना हाजी सैयद गुलाम हुसैन मजहरीले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता उलमा फाउण्डेशन नेपाल, नवलपरासीका निवर्तमान अध्यक्ष हजरत मौलाना सिराज अहमद निजामीले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला मदरसा, मस्जिद तथा कब्रिस्तान संरक्षण समितिका अध्यक्ष एवं समाजसेवी अमिरुल्लाह मियाँको उपस्थिति रहेको थियो । त्यस्तै जामिया फैजाने अहले बैत परासीका प्रिन्सिपल हजरत मौलाना सैयद सद्दाम हुसैन साहब तथा कारी अहमद रजा साहबको प्रत्यक्ष निगरानीमा जुलुस अत्यन्त अनुशासित, मर्यादित र व्यवस्थित रूपमा सञ्चालन भएको थियो ।
सद्भावको साझा मञ्च र एकताको सन्देश
समारोहमा मौलाना जैनुल आबेदीन साहब, हजरत मौलाना उमर निजामी साहब, हजरत मौलाना बदरुद्दीन साहब, हजरत मौलाना शहादत हुसैन साहब, हजरत मौलाना अब्दुल गफ्फार साहब, हजरत मौलाना अली हुसैन साहब, निवर्तमान जिल्ला समन्वय समिति प्रमुख शिव शंकर प्रसाद राय, समाजसेवी कासिद अली, समाजसेवी हाजी इस्हाक मियाँ, सामाजिक अभियन्ता हुसैन अन्सारी, वन विभागका अधिकारी अमजद अन्सारी साहब तथा टेलरिङ व्यवसाय संघका केन्द्रीय सदस्य राजु दीवान साहब लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।
सो अवसरमा उलेमा तथा नागरिक अगुवाहरूले पैगम्बर मोहम्मद मुस्तफाको सन्देश कुनै निश्चित समुदायका लागि मात्र सीमित नभइ सम्पूर्ण मानवजातिका लागि शान्ति, न्याय र सहिष्णुताको मार्गदर्शक भएको स्पष्ट पारे । परासी सहर सधैंझै धार्मिक सहिष्णुताको धरोहर रहेको र यस्ता साझा उत्सवहरूले हिन्दू र मुस्लिम समुदायबीचको दूरी मेटाइ आपसी विश्वास, भाइचारा र राष्ट्रिय एकताको जगलाई अझ बलियो बनाउने उनीहरूले जोड दिए ।
नागरिकप्रति आभार र साझा खुसी
पश्चिम नवलपरासीको सदरमुकाम परासीका सडकहरूमा पोखिएको उत्साह र सद्भावको माहोलले सम्पूर्ण जिल्लावासीलाई प्रफुल्लित बनाएको थियो । जुलुसलाई भव्य, सुरक्षित र अनुशासित रूपमा सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण उलेमा, समाजसेवी, बुद्धिजीवी, सुरक्षाकर्मी, व्यवसायी, युवा तथा आम नागरिकप्रति आयोजक उलमा फाउन्डेशन नेपालले आभार व्यक्त गरेको छ ।
धार्मिक आस्थालाई मानवता र भाइचारासँग जोडेको यो जुलुसले पश्चिम नवलपरासीको सामाजिक इतिहासमा शान्ति, सद्भाव र अद्वितीय एकताको अर्को एक स्वर्णिम अध्याय थपेको छ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij