२०८३, भाद्र ११ गते

Aug 27 2026 | २०८३, भाद्र ११ गते

उच्चस्तरीय सर्वदलिय संयन्त्रमार्फत राहत, उद्धार र पुनःस्थापनाको काम गर्छौं : रास्वपा

बिहिवार , भाद्र ११, २०८३

  • 31
    Shares
  • 31
    Shares
  • काठमाडौँ, ११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रवक्ता एवं सांसदजगदीश खरेलले उच्चस्तरीय सर्वदलीय संसदीय संयन्त्रमार्फत वाढीपछिको उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका काम गर्ने बताउनुभएको छ । 

    रास्वपा सभापति रवि लामिछानेको आवह्वानमा बिहीवार बसेको सर्वदलिय बैठकमा भएको निर्णय सुनाउँदै उहाँले उच्चस्तरीय संसदीय सर्वदलीय समितिमार्फत काम गर्ने बताउनुभएको हो । बैठकले उच्चस्तरीय संसदीय सर्वदलिय समिति गठन गर्ने निर्णय गरेको छ । सरकार एक्लैले विपद्को खोजी, उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणको सम्पूर्ण जिम्मेवारी वहन गर्न नसक्ने भएकाले राज्यका सबै पक्षको सहभागिता सुनिश्चित गर्न संसदीय संयन्त्र आवश्यक रहेको उहाँले बताउनु भयो ।

    उक्त संयन्त्र चाडै नै गठन हुने उहाँले जानकारी दिनुभयो । विपद्को राहत कार्यलाई गैरराजनीतिकरण गर्ने, आर्थिक सहयोग संकलनमा सरकारी एकद्वार प्रणाली अपनाउने, सामाजिक सञ्जालको विवेकपूर्ण प्रयोग गर्ने र संवेदनशील सूचना जिम्मेवार ढंगले प्रवाह गर्ने निर्णय पनि बैठकले गरेको उहाँले जानकारी दिनुभयो । हिमताल फुट्ने जोखिमको वैज्ञानिक अध्ययन गर्ने, सीमापार संयुक्त पहल, विपद् कुटनीति तथा देशका प्रमुख नदीहरूमा पूर्वसूचना प्रणाली विस्तार गर्ने लगायतका कार्य गर्न पहल गर्ने निर्णय गरिएको उहाँले बताउनु भयो ।

    जलवायु न्याय, अन्तर्राष्ट्रिय समुदायको सहयोग तथा दीर्घकालीन पुनर्निर्माणलाई पनि प्राथमिकतामा राखिएको खरेलले बताउनु भयो । बैठकले सरकारको खोजी, उद्धार तथा राहत प्रयासको प्रशंसा गर्दै उद्धारको पर्खाइमा रहेका नागरिकलाई तत्काल उद्धार गर्न, घाइतेको उपचार तथा प्रभावितलाई राहत उपलब्ध गराउन सरकारलाई सुझाव दिएको छ । 

    उहाँले भन्नुभयो, ‘संसदीय समिति बनाउनको लागि त्यो प्रक्रिया अब आरम्भ हुन्छ । अब सबै दलबीच संसदीय समिति बनाएर अगाडि बढ्ने सहमति भएको छ । यसले सरकारलाई, राजनीतिक दललाई एउटा कानुनी तवरबाटै, संवैधानिक तवरबाटै जवाफदेही, जिम्मेवार बनाउन पनि मद्दत गर्छ र सहयोग गर्न पनि मद्दत गर्छ । हामीले विगतका दिनमा यो खोजी, उद्धार, राहत, पुनःस्थापना र पुननिर्माणको कुरा हेरिराख्दा खेरि, सरकार एक्लैले गर्न सक्दैन भन्नेकुरा महशुस गरिसकेका छौँ । त्यसैले समग्र राज्यकै संलग्नता, सबैको संलग्नतामा गर्ने भएकोले यसलाई संसदीय समितिमार्फत, उच्चस्तरीय संसदीय समितिमार्फत अगाडि बढाउने भन्ने छ । अब आज यो निर्णय भएको छ, यो निर्णय भए पछाडि त्यो प्रक्रिया लगत्तै अगाडि बढ्छ ।’

    खरेलकाअनुसार बैठकमा सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरुङ र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जारी उद्धार तथा राहत कार्यबारे जानकारी गराउनुभएको थियो । सर्वदलीय बैठकमा रास्वपा सभापति रवि लामिछाने, काँग्रेस सभापति गगन थापा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका सांसद ध्रुव राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, संसदीय दलका नेता ज्ञानबहादुर शाही, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, महन्थ ठाकुर र जनमत पार्टीका नेता चन्दन सिंह लगायत सहभागी हुनुहुन्थ्यो ।