२०८३, भाद्र ११ गते

Aug 27 2026 | २०८३, भाद्र ११ गते

रसुवा बाढीः ३३ देशका ६ सय ४४ पर्यटक सम्पर्कविहीन

बिहिवार , भाद्र ११, २०८३

  • 316
    Shares
  • 316
    Shares
  • रसुवा, ११ भदौ । रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीका कारण सम्पर्कविहीन हुने आन्तरिक तथा वाह्य पर्यटकको संख्या ६ सय ४४ पुगेको छ । 

    बिहीवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐरले यस्तो बताउनुभएको हो । उहाँले टुर एजेन्सीहरुले दिएको जानकारीअनुसार विभिन्न ३३ देशका पर्यटकहरु सम्पर्कविहीन अवस्थामा रहेको जानकारी दिनुभयो । उहाँकाअनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतका १ सय ७८ जना हुनुहुन्छ । अहिले सम्पर्कविहीन अवस्थामा रहेका नेपाली पर्यटकको संख्या १ सय २७ जना रहेको उहाँले जानकारी दिनुभयो ।

      त्यसैगरी, अस्ट्रेलियाका ३५, मलेसियाका ५१, युकेका ३३, युएसएका ६५, क्यानडाका २५, युक्रेनका ५३ पर्यटक सम्पर्कविहीन भएको ऐरले बताउनु भयो । उहाँले टुर अपरेटर, नेपाल प्रहरी, पर्यटन विभाग, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका निकाय तथा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गरी खोज तथा उद्धार कार्य तीव्र बनाएको समेत जानकारी दिनुभयो । उहाँले तिमुरे र सोभन्दा माथिल्लो क्षेत्रमा रहेका पर्यटकहरु अझै पनि सम्पर्कमा नआएको भन्दै खोजी कार्य भइरहेको बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘भोटेकोशी बाढी सम्बन्धी खोज, उद्धारसम्बन्धी बोर्डले विभिन्न टुर अपरेटरहरुसँग जानकारी लिइराखेका छौँ । पर्यटकहरु सम्पर्कविहीन भएको संख्या हिजोभन्दा आज बढ्दो छ । पछिल्लो जानकारी अनुसार ६ सय ४४ जना हराएका छन् । हामीलाई ती पर्यटकलाई सम्पर्कमा ल्याउने प्रयास गरिरहेका छौँ ।

    सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै भारतका १ सय ७८ जना हुनुहुन्छ । सम्पर्कविहीन हुनेमा आन्तरिक पर्यटकहरु १ सय २७ जना हुनुहुन्छ । त्यसैगरी अस्ट्रेलियाका ३५, मलेसियाका ५१, युकेका ३३, युएसएका ६५, क्यानडाका २५, युक्रेनका ५३ लगायत ३३ वटा देशका पर्यटकहरु यसमा समावेश हुनुहुन्छ । हामीले प्राप्त सूचनाका आधारमा खोज र उद्धारको कार्यमा समेत तिव्रता दिएका छन् ।

    हामीलाई पर्यटकको खोजसम्बन्धी विषयमा टुर अपरेटरहरुले समन्वय गरिरहेका छन् । त्यसको जानकारी नेपाल पर्यटन बोर्ड, नेपाल पुलिस, डिपार्टमेन्ट अफ टुरिजम र संस्कृति पर्यटन तथा नागरिक उड्डयन अन्तर्गतको विभिन्न निकायहरुमा यो सूचनाहरु दिएर हामीले यसलाई विपद् व्यवस्थापन प्राधिकरण अन्तर्गत काम भइरहेको अवस्था छ । पछिल्लो समय सरकारले सञ्चालन गरिरहेको खोज तथा उद्धारका कार्यमा विभिन्न निकायहरु पनि जोडिएका छन् ।

    खासगरी तिमुरे र माथिको क्षेत्रमा रहेका मान्छेहरु अहिले पनि सम्पर्कमा नरहेको र अहिले तल्लो क्रमको विभिन्न ठाउँमा उद्धारको टोली परिचालन गरिएको छ । नेपालको पर्यटन क्षेत्रमा संलग्न निजी क्षेत्र पनि खोज तथा उद्धारको क्षेत्रमा सक्रियताका साथ काम गरिरहेको छ ।

    हामी सबै पर्यटकहरुलाई सकुसल उद्धार गर्ने कुरामा गम्भीर र चिन्तित छौँ । हामीले पर्यटकहरु सम्पर्कमा आएको तथा सम्पर्कविहीन भएको तथ्यांक वेभसाइटमार्फत समेत सार्वजनिक गरिरहेको छौँ । विपद् प्राधिकरणको वेभसाइटमा जानुभयो भने पनि त्यहाँ भेट्टाउन सक्नुहुनेछ । अहिले सिभिल एभिएसनको टिम एअरपोर्टमै खटिएको छ । उहाँहरुले आवश्यक समन्वय गरिरहनुभएको छ । यद्धपी हामीले पछिल्लो २ घण्टाको अपडेट पाएका छैनौँ ।’

    उहाँका अनुसार बोर्डले ट्राभल एजेन्सी र कम्पनीहरूसँगको समन्वयमा तथ्यांक संकलनको कार्य गरिरहेको छ । उक्त भीषण बाढीको मुख्य कारण नेपाल–चीन सिमानामा गएको हिम चट्टान पहिरो रहेको पाइएको छ ।

    राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्याटेलाइट तस्वीरको अध्ययन यस्तो निष्कर्ष निकालेको हो । रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वी सिमानामा हिम चट्टान पहिरो जाँदा ल्हेन्दे खोलामा गेग्य्रानसहित बाढी आएको र टिमुरे हुँदै त्रिशुलीमा प्रवेश गरेको प्राधिकरणले जनाएको छ ।