२०८३, भाद्र १२ गते

Aug 28 2026 | २०८३, भाद्र १२ गते

रसुवाका बाढीपीडितका लागि ३६ लाखभन्दा बढी राहत सहयोग

शुक्रवार , भाद्र १२, २०८३

  • 310
    Shares
  • 310
    Shares
  • पश्चिम नवलपरासी, १२ भदौ । रसुवामा आएको भीषण बाढी–पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि राहत तथा पुनःस्थापनाका लागि पश्चिम नवलपरासीका स्थानीय तह, शैक्षिक संस्था र सामाजिक व्यक्तित्वहरू एकजुट भएका छन् । बाढी प्रभावित नागरिकको सहयोगार्थ जिल्लाका पालिका, शैक्षिक सञ्जाल र पूर्व जनप्रतिनिधिमार्फत कुल ३६ लाख ५७ हजार रुपैयाँभन्दा बढी रकम विपद् कोषमा जम्मा गरिने भएको छ ।

    बर्दघाट नगरपालिकाद्वारा ३० लाखको सहयोग

    बर्दघाट नगरपालिकाले नगरभित्र कार्यरत शिक्षक, कर्मचारी तथा जनप्रतिनिधिको तीन दिन बराबरको तलब–पारिश्रमिक र विपद् कोष गरी करिब ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । नगरप्रमुख शम्भुलाल श्रेष्ठले विपद्को कठिन समयमा पीडितको उद्धार र राहतमा सहयोग पुर्याउनु स्थानीय सरकार र नागरिक सबैको दायित्व भएको बताउनुभयो ।

    प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलका अनुसार शिक्षक, जनप्रतिनिधि र कर्मचारीको ३ दिनको आधारभूत तलबबाट झण्डै २७ लाख र नगरस्तरीय विपद् व्यवस्थापन कोषबाट ३ लाख रुपैयाँ गरी सो रकम विपद् उद्धार कोषमा जम्मा गरिनेछ ।

    पाल्हीनन्दन गाउँपालिकाको ३ लाख १ हजार सहयोग

    पाल्हीनन्दन गाउँपालिकाले पनि रसुवाका बाढीपहिरो प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि रु. ३ लाख १ हजार सहयोग गर्ने निर्णय गरेको छ । कार्यवाहक गाउँपालिका अध्यक्ष कृष्णचन्द्र यादवको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले गाउँपालिकाको विपद्÷प्रकोप व्यवस्थापन कोषबाट सो रकम सोझै प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो । निमित्त प्रमुख प्रशासकीय अधिकृत संजय शर्मा र विपद् व्यवस्थापन संयोजक प्रदीप तिवारीका अनुसार मानवीय सहयोग र सामाजिक उत्तरदायित्व बहन गर्दै प्रभावित नागरिकसम्म छिटो राहत पुर्याउने उद्देश्यले यो निर्णय गरिएको हो ।

    रामग्राम नगरपालिकाको २ लाख ५१ हजार

    त्यसै गरी रामग्राम नगरपालिकाले पनि बाढी प्रभावितका लागि रु. २ लाख ५१ हजार सहयोग गर्ने निर्णय गरेको छ । नगरप्रमुख धनपत यादवका अनुसार नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट सो रकम राष्ट्रिय विपद् व्यवस्थापन कोषमा जम्मा गरिनेछ ।

    जिसन नवलपरासीद्वारा १ लाख ५ हजार हस्तान्तरण

    शैक्षिक ऐक्यबद्धताको समूह जिसन नवलपरासीले रसुवाका बाढी प्रभावितका लागि रु. १ लाख ५ हजार सहयोग गरेको छ । अध्यक्ष थमन शेरचनको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालमार्फत उक्त रकमको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो ।

    विपद्को घडीमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको अध्यक्ष शेरचनले बताउनुभयो । संस्थाका पूर्व अध्यक्ष इन्द्र गुरुङ, सचिव बलिराम यादव र प्रमुख सल्लाहकार सन्तोष रौनियारले मानवीय भावनाका साथ सबैले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने र यसले सामाजिक एकताको सन्देश दिने विश्वास व्यक्त गर्नुभयो ।

    व्यक्तिगत सहयोग पनि जारी

    उता बर्दघाट नगरपालिकाका पूर्व नगरप्रमुख धिरज शर्मा बस्यालले पनि व्यक्तिगत तर्फबाट रु. २५ हजार नगद सहयोग गर्नुभएको छ । पीडितहरूलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले राहत कोषमा रकम जम्मा गरिएको बस्यालले बताउनुभयो ।

    पश्चिम नवलपरासीका स्थानीय सरकार, शैक्षिक क्षेत्र र सामाजिक व्यक्तित्वहरूबाट प्रदर्शित यो तदारुकता र ऐक्यबद्धताले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापना कार्यमा ठूलो बल पुग्ने अपेक्षा गरिएको छ ।