आइतवार , भाद्र १४, २०८३
भैरहवा, १४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अब नेपाली जनता र देशलाई जोगाउने जिम्मेवारी राप्रपाको काँधमा आएको बताउनुभएको छ । उहाँले राप्रपाको सफलता–असफलता एउटा पार्टी र नेतासँग नभइ देशकै सफलता र असफलतासँग जोडिएको दावी गर्नुभयो ।
राप्रपा रुपन्देहीको सातौं जिल्ला अधिवेशनलाई आइतबार भैरहवामा सम्बोधन गर्नुहुँदै अध्यक्ष लिङ्देनले राप्रपा नयाँ ढंगले आयो भन्ने सन्देश दिनुपर्नेमा जोड दिनुभयो । उहाँले एउटा बलियो शक्ति निर्माणको जिम्मेवारी पनि आफूहरुले निर्वाह गरिरहेको बताउनुभयो ।
जेनजी आन्दोलन भएको एक वर्ष पुग्न लाग्दा पनि जनताको मन शान्त हुन नसकेको उहाँले बताउनुभयो । उहाँले अहिले देश ठूलो र अध्यारो सुरुङभित्र पसेको जस्तो देखिएको बताउनुभयो । ‘ठूलाठूला राजनीतिक विपत्तिहरु हाम्रै जीवनकालमा देख्यौं । आज पनि देश लिकमा आइसकेको छैन । अहिले देशको आकाशमा अनिश्चयका बादलहरु अझै बाक्लो बन्दै गइरहेको अवस्था छ, ’उहाँले भन्नुभयो ।
पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका लिङ्देनले अहिले सरकारमा जाने कि नजाने भन्ने राप्रपाको प्राथमिकताको विषय नै नभएको उल्लेख गर्नुभयो । अहिले राप्रपा कुनै पनि सत्ताकेन्द्रीत गतिविधिमा सामेल नहुने भन्ने पार्टीको स्पष्ट निर्णय रहेको उहाँले सुनाउनुभयो । ‘राप्रपा कहिल्यै सरकारमा नजाने पार्टी होइन । सरकारमा कहिल्यै जाँदैनौं भनेर कसम खाएका छैनौं । तर, सरकारमा जाने वा नजाने पार्टीको निर्णयको आधारमा गर्छौं, ’उहाँले भन्नुभयो ।’
बागमती प्रदेश सरकारमा राप्रपाका सांसद्हरु सहभागी भएको भन्ने विषयमा उहाँले पार्टीको निर्देशनविपरीत काम गरे पार्टी कसरी चल्छ भन्दै उहाँले प्रश्न गर्नुभयो । ‘संसदीय व्यवस्थामा पार्टीको सांसद्हरुले पार्टीको निर्देशन पालना नगर्ने हो भने दलीय व्यवस्था कसरी चल्छ ? उहाँले भन्नुभयो ।’
आफूले राप्रपाको नेतृत्व सम्हालेपछि पार्टीलाई पहिलो, दोस्रो बनाउन नसके पनि अध्यक्षको कुनै निर्णयका कारण नेता–कार्यकर्ताले शिर झुकाउन नपरेको उहाँको भनाइ छ । ठीक ढंगले काम गर्ने हो भने निराश हुनु नपर्ने उहाँले बताउनुभयो ।
त्यस्तै राप्रपाका सहायक महामन्त्री तथा प्रतिनिधि सभा सदस्य ताहिर अली भाटले गत प्रतिनिधि सभा निर्वाचन अघि पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न सकेको भए यस्तो हालत नहुने बताउनुभयो। उहाँले रुपन्देहीमा राप्रपा बलियो शक्तिको रुपमा रहेको बताउनुभयो ।
कार्यक्रममा राप्रपाका केन्दीय सदस्य ध्रुव रायमाझी, तोयानाथ लम्साल, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, राप्रपा पश्चिम नवलपरासीका अध्यक्ष रामभवन यादव, रुपन्देही जिल्ला सचिव बलराम शर्मा, रुपन्देही क्षेत्र नम्बर १ का अध्यक्ष माधव प्रसाद रिमाल, तिलोत्तमा नगरपालिका अध्यक्ष चेतनारायण कंडेल, नेता अजय कुमार गुप्ता लगायतले बोल्नुभएको थियो ।
राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणाको अध्यक्षता, जिल्ला सदस्य मुक्तिनाथ यादव (भोला)को स्वागत तथा सह–सचिव शंकर खत्रीको सञ्चालनमा कार्यक्रम सम्प्न्न भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij