२०८३, भाद्र १५ गते

Aug 31 2026 | २०८३, भाद्र १५ गते

सरकारको सक्रियता सामाजिक सञ्जाल र भुगोलमा फरक देखिएको छ : निश्कल राई

सोमवार , भाद्र १५, २०८३

  • 256
    Shares
  • 256
    Shares
  • काठमाडौँ, १५ भदौ । नेपाली काँग्रेसका सचेतक निश्कल राईले विपद्पछि सरकारले राहत तथा उद्धार व्यवस्थापन प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको आरोप लगाउनुभएको छ । 

    सोमवार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारको सक्रियता समाजिक सञ्जालमा देखिएको जस्तो भुगोलमा नरहेको बताउनुभएको हो । विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण कार्य प्रभावकारी रुपमा हुन नसकेको उहाँले बताउनु भयो । राहत सामग्री एक ठाउँमा थुप्रिएको तर वास्तविक पीडितले प्राप्त गर्न नसकेको अवस्था देखिएको उहाँको भनाई छ । सरकारले राहत वितरणमा स्थानीय तहसँग पर्याप्त समन्वय गर्न नसकेको पनि आरोप लगाउनु भयो ।

    स्थानीय तहसँग प्रभावित नागरिकको वास्तविक अवस्था, तथ्यांक र आवश्यकताबारे जानकारी हुने भएपनि सरकारले उनीहरूसँग प्रभावकारी समन्वय गर्न नसकेको उहाँको भनाई छ । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएको उल्लेख गर्दै उहाँले सामाजिक सञ्जालमा देखिएको अवस्था र स्थलगत वास्तविकताबीच फरक रहेको दाबी गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘सरकार अत्यन्त सक्रिय बनिरहेको भनेर जुन हिसावको सामाजिक संजालमा कतिपय कुराहरू आए । तर वास्तविकता फरक छ, हाम्रो संसद दलका नेता श्रद्धेय भीष्मराज आङदेम्बे पनि फिल्डमा पुगेर आइसक्नु भयो । भुगोलको वास्तविकता जुन सामाजिक सञ्जालमा आएको भन्दा फरक देखिएको छ । राहतको विषयमा जति पनि तपाईंको निडी मान्छेहरू छन्, उहाँहरूले नपाईरहेको अवस्था छ । राहत एक ठाउँ गएर तपाइँको डम्प भएको छ । यसको डिस्प्याचको म्याकेनिज्म त्यति राम्रो ढंगबाट हुन सकिरहेको छैन । एकद्वार प्रणाली सरकारले अवलम्बन गरेको छ । तर त्यो एकद्वार प्रणालीमा स्थानीय तह जोसँग त्यहाँका वास्तविकता पनि थाहा छ, जहाँको तथ्यांक पनि थाहा छ र को निडी हो भन्ने कुरा पनि थाहा छ, तीसँग पनि समन्वय नगरिरहेको भन्नेकुरा आएको छ ।’

    उहाँ विपद् व्यवस्थापनमा सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनु भयो । विपद् व्यवस्थापनका लागि सरकारले प्रभावित क्षेत्रको यकिन तथ्यांक तत्काल संकलन गर्नुपर्ने उहाँको भनाई छ । विपद् आउनुअघिको कुल जनसंख्या, हाल सम्पर्कमा रहेका नागरिक, सुरक्षित स्थानमा पुगेका व्यक्ति, बेपत्ता, मृतक तथा अज्ञात अवस्थामा रहेका व्यक्तिको तथ्यांक यकिन गर्न उहाँले सुझाव दिनुभयो । त्यस्ता तथ्यांक स्थानीय तह, सुरक्षा निकाय तथा नागरिक प्रतिनिधिसँग उपलब्ध हुने भएकाले सबै निकायलाई सक्रिय बनाएर संयुक्त रूपमा व्यवस्थापन अघि बढाउनुपर्ने उहाँको भनाई छ ।

    सचेतक राईले शव व्यवस्थापनलाई समेत सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताउनु भयो । विपद्का कारण मृत्यु भएकाहरूको शव सुरक्षित रूपमा राख्ने तथा व्यवस्थापन गर्ने विषयमा आवश्यक उपकरण र पूर्वाधारको अभाव रहेको भएपनि विज्ञसँग परामर्श गरेर उपयुक्त विधि अपनाउन सरकारलाई उहाँले आग्रह गर्नुभयो । उहाँले विपद्को बेलामा सबै एकजुट भएर सरकारलाई सहयोग गर्न दलहरुलाई आग्रह गर्ने निर्णय पनि बैठकले गरेको बताउनु भयो । काँग्रेसले सबै काँग्रेसले आफ्ना सांसदहरुलाई अनावश्यक रुपमा बाढी प्रभावित क्षेत्रमा भीडभाड गर्न नजान पनि निर्देशन दिएको छ । कतिपय सांसदहरु फोटो भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नकै लागि बाढी प्रभावित क्षेत्रमा जाने गरेको सचेतक राईले बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘हाम्रा माननीयज्युहरूलाई आवश्यकता पर्दामा मात्रै फिल्डमा गइदिनका लागि अनुरोध गरेका छौँ, अनावश्यक रूपमा भीडभाड नगरिदिनका लागि र त्यहाँ जुन हिसाबबाट हामीले सामाजिक संजालमा राख्नको लागि मात्रै जाने प्रवृत्ति छ, त्यसलाई न्युनिकरण गर्नको लागि भीडभाड नगरिदिनको लागि पनि हामीले आग्रह गरेका छौँ ।’
    काँग्रेसले बाढीपीडितहरुको उद्धार राहतको लागी आवश्यक टोली पनि परिचालन गरेको उहाँले जानकारी दिनुभयो ।