सोमवार , भाद्र १५, २०८३
काठमाडौँ, १५ भदौ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रसुवा बाढीपछिको पुनर्निर्माणका लागि तीन दिनभित्र ठोस कार्यढाँचा (फ्रेमवर्क) पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
सोमवार सिंहदरवारमा आयोजित बैठकमा बोल्दै मन्त्री लम्सालले यस्तो निर्देशन दिनुभएको हो । उद्धार र राहतको चरणसँगै अब पुनर्निर्माणको प्रक्रियामा प्रवेश गर्नुपर्ने बताउनु भयो । मन्त्री लम्सालले राष्ट्रिय योजना आयोग, मुख्य सचिव र विज्ञ सुशील ज्ञवालीसहितको टोलीलाई विद्यमान ऐन कानूनको परिधिभित्र रहेर कार्यढाँचा तयार पार्न निर्देशन दिनुभएको हो ।
नयाँ संरचना खडा गर्दा समय लाग्ने भएकाले हालकै कानूनी व्यवस्थालाई टेकेर विगतको पुनर्निर्माण प्राधिकरण जस्तै शक्तिशाली र प्रभावकारी ढङ्गले काम गर्नसक्ने संयन्त्रको परिकल्पना गर्न उहाँले आग्रह गर्नुभयो । मन्त्री लम्सालले विपद्को समयमा प्रमुख जिल्ला अधिकारीको कार्यालय र विपद् व्यवस्थापन प्राधिकरण स्वतः क्रियाशील हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै चासो व्यक्त गर्नुभयो ।
मन्त्री लम्सालले भन्नुभयो, ‘तीन दिनभित्र हामीले कार्यढाँचा पेश गर्नुपर्छ । त्यो तपाईंहरुले तयार गरिदिनुस् । विगतमा कहाँ र के कारणले कमजोरी भयो, त्यसको सुक्ष्म अध्ययन गरी ऐन कानूनमा गर्नुपर्ने परिमार्जनका बारेमा योजना आयोगले खाका तयार पार्नुपर्छ ।’
भविष्यमा आइपर्ने जुनसुकै विपद्मा पनि राज्यका संयन्त्रहरू कसैको निर्देशन नपर्खी स्वचालित रूपमा उद्धार र पुनःस्थापनामा खटिन सक्ने गरी संयन्त्र बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । पुनर्निर्माणका लागि आवश्यक विभिन्न कार्यदलहरू गठन गरी तिनको कार्यक्षेत्र र जिम्मेवारी समेत तोकिने मन्त्री लम्सालले जानकारी दिनुभयो । बैठकको बाँकी सत्रमा प्रधानमन्त्रीका सल्लाहकार सुदीप ढकालको नेतृत्वमा कार्यदलको अन्तिम रूपरेखा र जिम्मेवारी बाँडफाँट टुङ्ग्याइने बताइएको छ । मन्त्री लम्सालले ठोस योजना र कार्यदलको जिम्मेवारी स्पष्ट भएपछि मात्रै बैठक निष्कर्षमा पुग्ने बताउनु भयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij