२०८३, भाद्र १७ गते

Sep 02 2026 | २०८३, भाद्र १७ गते

रसुवा बाढी : मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै बेपत्ता

बुधवार , भाद्र १७, २०८३

  • 241
    Shares
  • 241
    Shares
  • काठमाडौँ, १७ भदौ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी निधन भएका १ हजार १ सय १४ जनाको शव फेला परेको बताएको छ । 

    प्राधिकरणको बुधवार बिहन ९ बजेसम्मको तथ्याङ्कअनुसार, बाढी र पहिरोजन्य विपद्मा परी हालसम्म मृत्यु हुनेको संख्या १ हजार १ सय १४ पुगेको हो । प्राधिकरणकाअनुसार बाढी र पहिरो परी निधन भएकाहरु  चितवनमा सबैभन्दा बढी ३ सय ४८ जनाको शव फेला परेको छ । नवलपरासी पूर्वमा २ सय १७, नवलपरासी पश्चिममा १ सय ९०, नुवाकोटमा १ सय ५५, गोरखामा ६६, धादिङमा ५९, रसुवामा ४१ र तनहुँमा ३८ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये हालसम्म ९५ जनाको मात्र सनाखत भई आफन्तलाई बुझाइएको छ । 

    यस विपद्मा हालसम्म २९२ जना घाइते भएका छन् । जसमध्ये १८२ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने अन्यको उपचार जारी छ । घाइतेहरूको उपचारका लागि नेपाली सेनाले २ हजार ९ सय १५ र सशस्त्र प्रहरी बलले १ हजार १ सय ५५ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ । 

    विपद्का कारण करिव ३ हजार ९ सय १६ जना अझै सम्पर्कविहीन छन् । बेपत्ता हुनेहरूमा सरकारी कर्मचारी, सुरक्षाकर्मी, जनप्रतिनिधि, विदेशी नागरिक, पर्यटक तथा स्थानीय बासिन्दा र जलविद्युत आयोजनामा कार्यरत श्रमिकहरू रहेका छन् । प्राधिकरणका अनुसार हालसम्म ११ हजार ९ सय ९३ जनाको सफल उद्धार गरिएको छ । 

    उद्धार कार्यका लागि २१,३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमा नेपाली सेनाका ९ हजार १ सय ९९, नेपाल प्रहरीका ७ हजार ९ सय १२ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका छन् । नेपाली सेनाले ६ सय २२ पटक हवाई उडान गरी ४ हजार ९१ नेपाली र २ सय ७३ विदेशी नागरिकको उद्धार गरेको छ । यस्तै, ३ हजार ४ सय ५३ जनालाई विभिन्न जिल्लाका होल्डिङ सेन्टरहरूमा राखिएको छ । 

    सरकारले प्रभावित जिल्ला र पालिकाहरूका लागि राहत रकम निकासा गरेको छ । रसुवा र नुवाकोट जिल्लालाई १÷१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ उपलब्ध गराइएको छ । यसका साथै प्रभावित १५ वटा पालिकाका लागि थप ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको प्राधिकरणले जनाएको छ ।

    राहत सामग्रीतर्फ ३७ ट्रक र ३७ बोलेरोमार्फत खाद्यान्न तथा गैर–खाद्यान्न सामग्री प्रभावित क्षेत्रमा पु¥याइएको छ । दुर्गम क्षेत्रहरूमा ७७ पटक हेलिकप्टर उडानमार्फत राहत सामग्री ढुवानी गरिएको छ ।
    प्रभावित क्षेत्रमा अत्यावश्यक इन्धनको मौज्दात सुरक्षित राखिएको छ । हाल ४९ हजार लिटर डिजेल, १९ हजार लिटर पेट्रोल र १३ हजार लिटर हवाई इन्धन मौज्दात रहेको छ । 

    सञ्चार क्षेत्रमा परेको असरलाई मत्थर पार्दै नेपाल टेलिकमका क्षतिग्रस्त ११० वटा टावरमध्ये सबै सञ्चालनमा ल्याइएको छ । यस्तै, एनसेलका ७८ क्षतिग्रस्त टावरमध्ये ७५ वटा सञ्चालनमा आइसकेका छन् । बाँकी टावरहरूको मर्मत कार्य जारी रहेको प्राधिकरणले उल्लेख गरेको छ ।