बुधवार , भाद्र १७, २०८३
भैरहवा, १७ भदौ । पञ्चकन्या समूहले बाढीप्रभावितको राहत तथा पुनर्निर्माणका लागि १ करोड ५५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । भदौ १० गते आएको बाढीमा प्रभावितहरुका लागि राष्ट्रिय राहत तथा पुनर्निर्माण कार्यमा सहयोग गर्ने उद्देश्यले रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध गराएको हो ।
पञ्चकन्या ग्रुपमार्फत १ करोड ५५ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ भने पञ्चकन्या फाउण्डेशनमार्फत आवश्यक पुनर्निर्माण सामग्री नेपाल सरकारलाई उपलब्ध गराउनेछ ।
त्यस्तै समूहमा कार्यरत कर्मचारीहरूले १५ लाख रुपैयाँ सहयोग गरेको पञ्चकन्या समुहका महाप्रबन्धक देवेन्द्र साहुले बताउनुभयो । पञ्चकन्या समूह भदौ १५ गते स्थापना भएको ५५ वर्ष पुगेको छ । प्रत्येक वर्ष विभिन्न सामाजिक
कार्यक्रमसहित वार्षिकोत्सव मनाउँदै आएको समूहले यसपटक कुनै पनि कार्यक्रम आयोजना नगरेको जनाएको छ ।
देशमा आएको विपद्का कारण प्रभावित नागरिकको पीडामा आफूहरू पनिसम्वेदनशील रहेको भन्दै राहत तथा पुनर्निर्माणमा सक्दो योगदान गर्नु आफ्नो जिम्मेवारी भएको समूहले जनाएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १५ कोटिहवामा रहेको पञ्चकन्या स्टिल उद्योगमा बुधबार खुल्ला रक्तदान आयोजना गरिएको छ । समूहका महाप्रबन्धक देवेन्द्र साहुले बाढी तथा अन्य कारणबाट रगत अभाव हुन सक्ने भन्दै उद्योग परिसरमा खुल्ला रक्तदान आयोजना गरिएको बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij